Logo

‘प्राङ्गारिक मिसन‘ कार्यक्रम सञ्चालन हुँदै



सुदुरपश्चिम, १३ बैशाख । स्वस्थ्य बाली उत्पादनका लागि कैलालीमा ‘प्राङ्गारिक मिसन’ कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । विषादी जस्ता रसायन प्रयोग गरेर हुने बालीको उत्पादनलाई न्यूनीकरण गरी स्वस्थ्य बाली उत्पादनमा जोड दिन यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । रासायनिक मल र विषादीको प्रयोग गरेर उत्पादन हुने कृषि उपजको उपभोगले कुनै न कुनै रुपमा मानव स्वास्थ्यमा प्रतिकूल असर पुगिरहेको कृषि प्राविधिकको भनाइ छ । रासायनिक विषादी प्रयोग गरेर खेती गरिने क्षेत्र र रासायनिक विषादी प्रयोग नगरेर गरिने खेती क्षेत्र गरी दुई भागमा यो मिसन कार्यक्रम सञ्चालन गर्न लागिएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ ।

“प्राङ्गारिक खेती प्रणालीमा जानुपर्छ भनेर यो मिसन कार्यक्रम गर्न लागिएको हो”, कार्यालय प्रमुख खगेन्द्रप्रसाद शर्माले भन्नुभयो, “यो कार्यक्रमले कृषकमा स्वास्थ्य बाली उत्पादन गर्न गराउन सचेतना फैलाउन मद्दत पुग्ने छ ।” पछिल्ला वर्षमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै जाँदा खेतबारीको माटो पनि बिग्रिन थालेको बताइन्छ । यस्तो अवस्थामा बिग्रिएको माटो सुधार्न र स्वस्थ्य खाद्य पदार्थको उत्पादनका लागि प्राङ्गारिक खेती प्रणाली अपनाउन जरुरी भइसकेको कृषि प्राविधिकको भनाइ छ ।

जैविक मल प्रयोग गरेर गरिने खेतीलाई प्राङ्गारिक खेती प्रणाली भनिन्छ । यो खेती प्रणाली अपनाउँदा मानिसलाई स्वस्थ्य खाद्यान्न प्राप्त हुने मात्र नभई पर्यावरणीय सामाजिक र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने गरेको बताइन्छ ।
विविध हावापानी पाइने नेपालमा यो खेतीको प्रशस्त सम्भावना छ । रासायनिक मल र विषादीलाई पूर्ण रुपमा विस्थापित गर्न भने चुनौती देखिएको बताइएको छ । प्राङ्गारिक खेती गर्दा ऊर्जाको संरक्षण हुने, समयअनुसार ऊर्जाको आवश्यकता घट्दै जाने, स्वस्थ्यकर खाद्यान्न उत्पादन हुने, वातावरण र जीवजन्तुको इकोसिस्टम ९चक्रीय प्रणाली० लाई सही बाटोमा ल्याउने लगायत फाइदा देखिन्छन् ।
विषादीको प्रयोग बढ्दै जाँदा बाजारमा स्वस्थ्य र खानयोग्य फलफूल, ताजा तरकारीलगायत खाद्य वस्तु पछिल्ला दशकमा पाउन मुश्किल भइसकेको कृषि प्राविधिकको भनाइ छ । उपभोक्ताले जानीनजानी यस्ता खाद्य पदार्थको उपभोग गर्ने गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्