काठमाडौं, बैशाख १४ । अन्ततः सशस्त्र प्रहरी बलका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी)को एक वर्ष पदावधि थप भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा दुुबै एआईजीको एक वर्ष पदावधि थप्न प्रक्रिया अघि बढाउन गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई आज सोमबार निर्देशन दिएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले दुबैको म्याद थपेको हो ।
सशस्त्र प्रहरी बलमा पुष्पराम केसी र रामशरण पौडेल एआईजी छन् । उनीहरुको पदावधि थप्ने र नथप्ने विषयलाई लिएर शक्तिकेन्द्रबीच चर्को लविंग हुँदै आएको थियो ।
सशस्त्र प्रहरीमा एआईजी र नायव महानिरीक्षक (डीआईजी) को पदावधि चार–चार वर्ष रहेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को खण्ड ६४ को नियम २ को उपनियम १ मा भने एआईजी र डीआईजीको पदावधि एक वर्ष थप्न सकिने उल्लेख छ ।
तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको समयमा सशस्त्र प्रहरी नियमावली २०७२ आएको हो । नयाँ नियमावली आउनु अगाडि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को पदावधि पाँच वर्ष रहेको थियो । राजधानी दैनिकबाट