सप्तरी, बैशाख १४ । जिल्लाको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ । सो नगरपालिकाको वडा नं ३ तरहीमा एकै परिवारका ११ मा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा तरहीकी ९५ वर्षीया महिला उपचारका लागि केही दिनअघि भर्ना हुँदा उनको परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको थियो ।
वृद्ध महिलामा सङ्क्रमण पुष्टि भएपछि उनको परिवारका १५ सदस्यको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो। केही दिनअघि मात्रै परिवारका ६० वर्षीय एक पुरुष भारतको राजस्थानबाट फर्किएका थिए । हाल सङ्क्रमित ११ जनालाई होम आइसोलेसनमा राखिएको छ । गोरखापत्र दैनिकबाट