Logo

छापामार शैलीमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउनसक्ने



काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छापामार शैलीमा अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि समावेदन दर्तासहित अविश्वासको प्रस्ताव ल्याउने भित्री सहमति बनेको बुझिएको छ । त्यसको कार्यान्वयनका लागि छापामार शैली अपनाइने रणनीति बनेको बुझिएको छ ।

कुनैपनि बेला समावेदन दर्ता गरी अविश्वासको प्रस्ताव विशेष अधिवेशनमा दर्ता गरिने विश्वस्त स्रोतले बताएको छ । अविश्वासको प्रस्ताव ल्याउन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सहमत भएको तर उनले जनता समाजवादी पार्टीबाट साथको सुनिश्चितता हुनुपर्ने शर्त राखेका छन् । कम्तिमा जसपाको आधाभन्दा बढी सांसद अविश्वासको प्रस्तावको पक्षमा हुनुपर्ने र एमालेबाट पनि फ्लोर क्रस सुनिश्चित भएमा मात्र अगाडि बढ्न सकिने देउवाले प्रष्ट पारेको बुझिएको छ ।

देउवालाई जसपाको उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षधरले आश्वस्त पारेको स्रोतले बताएको छ । जसपाभित्र ओली र ओलीविरोधीबीच ध्रुवीकरण चलेको छ । यसकारण अविश्वासको प्रस्ताव पारित हुन एमालेबाट फ्लोर क्रसबाहेक विकल्प देखिएको छ ।

अविश्वासको प्रस्ताव पारित गर्न काँग्रेस, माओवादी केन्द्र र जसपाको सबै मत पक्षमा पर्नुपर्छ । जसपाको मत विभाजित हुने देखिएपछि काँग्रेसले एमालेबाट फ्लोर क्रसको आशा राखेको छ । एमालेको माधव नेपाल पक्षले फ्लोर क्रस गर्ने सम्भावना रहेको छ । यसैलाई दृष्टिगत गरी अध्यक्ष केपी शर्मा ओलीले २७ जना सांसदलाई पदमुक्त गर्न खोजेका छन् ।

प्रतिनिधि सभामा मतदानको अधिकार भएकामा एमालेका १२०, काँग्रेसका ६२, माओवादी केन्द्रका ४९, जसपाका ३२, राप्रपा, नेमकिपा र जनमोर्चाका ११ सांसद छन् । स्वतन्त्र १ सांसद छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot