काठमाडौं, १४ बैशाख । भोजपुरका सामुदायिक स्कुलमा भर्चुअल शिकाइमा सहजता प्रदान गर्न कम्प्युटर हस्तान्तरण गरिएको छ । “ईश्वर मन्दिर, काठमाण्डौ” ले डिजिटल भोजपुर अभियान अन्तर्गत भोजपुर बजारको जनसेवा आधारभूत विद्यालयलाई कम्प्युटर र स्मार्ट टिभी हस्तान्तरण गरेको हो ।
पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाका अनुसार जनसेवा आधारभूत विद्यालय, भोजपुर बजारलाई कम्प्युटर शिक्षा एवं भर्चुअल शिकाइका लागि दोश्रो चरणको सहयोग अन्तर्गत थप पाँच वटा कम्प्युटरहरू र एउटा स्मार्ट टिभी हस्तान्तरण गरिएको बताए । विद्यार्थी साथमा: कम्प्युटर हातमा भन्ने उद्देश्यका साथ अभियानले भोजपुरका विभिन्न सामुदायिक विद्यालयमा कम्प्युटर प्रदान गर्दै आएको छ ।
“ईश्वर मन्दिर, काठमाण्डौ” ले डिजिटल भोजपुर अभियान अन्तर्गत भोजपुरका सरकारी (सामुदायिक) विद्यालयहरूमा डिजिटल शिक्षाको उदाहरणीय कार्य गरिरहेको पूर्वअर्थमन्त्री कोइरालाको भनाइ छ । डिजिटल भोजपुर अभियानमा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आले , प्रमेश केसी, संकेत कोइराला, अर्जुन न्यौपाने लगायतको महत्त्वपूर्ण योगदान रहेको छ ।