काठमाडौं, १४ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सङ्क्रमितको उपचारका लागि अक्सिजनको ठूलो समस्या नभएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार देशभरिका ३० अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएका छन् । ती अस्पतालबाट दैनिक दुई हजार ५४९ सिलिण्डर अक्सिजन भर्न सक्ने क्षमता छ ।
केही अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्कसमेत छन् । उनका अनुसार अहिले ती अस्पतालमा अक्सिजन भरिएका करीब छ हजार सिलिण्डर छन् । अक्सिजन बिक्रेताले अहिले दैनिक आठ हजार सिलिण्डर भर्न सक्ने जनाएका छन् ।
“नेपालमा समस्या अक्सिजनको रहेको छैन । खाली सिलिण्डरको मात्र समस्या छ”, उनले भने, “सिलिण्डर हामी कहाँ बन्दैन र बाहिरबाट आउँछ । हामीसंँग भएका भरिएका सिलिण्डर बाहिर लगियो भने फर्केर आउँदैन । त्यसपछि हामीलाई समस्या आउँछ ।” उनले सिलिण्डर ल्याउनका लागि कूटनीतिक प्रयासका लागि पहल भइसकेको जानकारी दिए । रासस