Logo

तंग्रिन थालेको वैदेशिक रोजगार क्षेत्र पुनः संकटमा



काठमाडौं, बैशाख १५ । गतवर्ष कोरोना महामारीका कारण अस्तव्यस्त भएर विस्तारै उठ्न थालेको वैदेशिक रोजगार क्षेत्र पुनः संकटमा पर्ने देखिएको छ । संक्रमण बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र संक्रमितको संख्यालाई ध्यानमा राखी रोजगार गन्तव्य मुलुकले नेपाललाई पनि ‘रेड जोन’मा राख्ने खतरा बढेको हो ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले गतवर्षको लकडाउनले श्रमबजारलाई अस्तव्यस्त बनाएको र पछिल्ला दिनमा संक्रमण बढेपछि लागू गरिने निषेधाज्ञारलकडाउन लगायत कारण यो क्षेत्र थप संकटमा पर्ने बताए । अहिले हजारौंको संख्यामा नेपालीहरू वैदेशिक रोजगारीमा जान प्रक्रिया अघि बढेकोमा कोभिडको बढ्दो संक्रमणले अनिश्चित बन्न सक्ने उनले बताए ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिए । संघका महासचिव सुजित श्रेष्ठका अनुसार अहिले पनि मलेशिया, साउदी अरब र दुबईमा नेपाली कामदार जान पाइरहका छैनन् । साउदी अरब, कतार, ओमन र मलेशियामा कामदार पठाउनेबारे अहिले म्यानपावर कम्पनीले लबिङ गरिरहेका छन् । त्यसैले छिट्टै ठूलो संख्यामा नेपालीहरू पठाउने तयारी छ । कोरोना रोकथामका लागि चालिएका कदमका बीच नेपालीलाई सुरक्षित तवरले विदेश पठाउन सरकारले सहजीकरण गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

बुधवार वैदेशिक रोजगार विभागका महानिर्देशक संयोजक रहेको सहजीकरण समितिको बैठक समेत बस्दै छ । उक्त समितिको सिफारिशमा बुधवार साँझसम्म निषेधाज्ञाका बीच वैदेशिक रोजगारीमा नेपालीलाई पठाउनेबारे श्रम मन्त्रालयले उचित निर्णय लिने अपेक्षा व्यवसायीको छ ।

त्यसो त, खाडी मुलुक, मलेशिया, यूरोपेली मुलुक, कोरिया, जापान र अफ्रिकी देशबाट घर फर्किने नेपालीको संख्या बढ्न थालेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । चैतमा मात्र विदेशबाट ६० हजार नेपाली स्वदेश फर्किएको तथ्यांकले देखाउँछ । हाल दैनिक करिब ३ हजार नेपाली स्वदेश फर्किरहेको विमानस्थका एक उच्च अधिकारीले जानकारी दिए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्