Logo

२ दिनमा २ लाखले छाडे उपत्यका



काठमाडौं, बैशाख १५ । कोरोना संक्रमणको दर बढ्दै जाँदा बिहीवार रातिदेखि १ साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि २ दिनमा २ लाख मान्छे उपत्यकाबाट बाहिरिएका छन् । संक्रमण बढेर भयावह अवस्था आउन नदिनका लागि उपत्यकाका तीनओटै प्रमुख जिल्ला अधिकारीहरूको सोमवार बसेको संयुक्त बैठकले निषेधाज्ञाको निर्णय गरेको थियो ।

गतवर्षको जस्तै निषेधाज्ञाको समय लम्बिँदै जान सक्ने आशंकामा सर्वसाधारणहरू घर जाने क्रम बढेको हो । कलंकी, बालाजु, कोटेश्वर, बल्खुलगायत स्थानमा उपत्यका छाडेर बाहिरिने मान्छेहरूको भीड बढेको देखिएको छ ।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले उपत्यकामा निषेधाज्ञा हुने भएपछि सोमवार र मंगलवार गरी २ दिनमा करीब २ लाख मान्छे उपत्यका छाडेर बाहिरिएको बताए । उनका अनुसार सामान्य अवस्थामा उपत्यका छाड्नेहरूको संख्या दैनिक करीब ५० हजारको हाराहारीमा हुने गर्छ ।

सरकारले बिहीवारदेखि निषेधाज्ञा लागू गर्ने भएको छ । सरकारले दिएका अवधिमा गाउँ फर्किन चाहनेहरूका लागि सवारी पर्याप्त नहुने भएकाले कम्तीमा पनि २÷३ दिनका समय थप गर्नुपर्ने उनको भनाइ छ । उपत्यका बाहिर जानेहरूका लागि सहज बनाउन गाडी चलाउने समय थप नगरेमा अघिल्लोपटकको बन्दाबन्दीमा जस्तै समस्या आउन सक्ने उनको भनाइ छ ।

निषेधाज्ञाको खबर बाहिरिएसँगै सोमवारदेखि नै उपत्यकामा बसेर पढ्ने विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदूर र अन्य कामको शिलसिलामा काठमाडौं आएकाहरू बाहिरिने क्रम बढेको छ । बुधवारसम्मका लागि सबै गाडीका टिकटहरू बुक भइसकेका छन् । धेरै यात्रुहरूले टिकट नपाएको गुनासो समेत गरेका छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्