Logo

देश यसरी जाँदैछ मध्यावधी चुनावको बाटोमा



काठमाडौं, १५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने गरी बन्न लागेको नयाँ समिकरणमा जनता समाजवादी पार्टी रोकिएपछि नयाँ घटना विकास हुने भएको छ । जसपाले अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा आफूलाई अगाडि नबढाउने भएपछि राजनीति नयाँ ढंगले बढ्ने भएको हो ।

नेपाली काँग्रेस र जनता समाजवादी पार्टी मिलेर विशेष अधिवेशनको समावेदन दर्ता गरी अविश्वासको प्रस्ताव ल्याउने रणनीति बनाइएकोमा जसपाले निर्णय लिन सकेन । जसपाको कार्यकारिणी समितिको बैठकले कुनै निर्णय लिन सकेन ।

नेकपा माओवादी केन्द्रले काँग्रेस र जसपाबाट अविश्वासको प्रस्तावको आकांक्षा राखेको थिया् । उसले ओली सरकारलाई दिइआएको समर्थन फिर्ता नलिई अविश्वासको प्रस्ताव काँग्रेस र जसपाले दर्ता गरोस् भन्ने चाहेको थियो ।

जसपाले अविश्वासको प्रस्ताव ल्याउनेबारे कुनै निर्णय नलिएपछि माओवादी केन्द्र सरकारलाई दिइआएको समर्थन फिर्ता लिने पक्षमा देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समर्थन फिर्ता लिने निर्णयाधिकार पाएकाले उनले कुनैपनि बेला त्यस्तो निर्णय लिनसक्ने बुझिएको छ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्छ । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिन नसकेमा संसदमा सबैभन्दा ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्री रहने सम्भावना रहन्छ । कि त दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन सक्नुपर्छ ।

ओलीको विकल्पमा सरकार बनाउन काँग्रेस, माओवादी र जसपालगायत दलहरुबीच सहमति बन्न मुश्किल पर्छ । त्यतिबेला फेरि ओलीले अल्पमतको सरकारको प्रधानमन्त्रीका रुपमा देशलाई अर्ली इलेक्शनमा लानसक्ने सम्भावना रहन्छ ।

अहिलेको राजनीतिक घटनाक्रम मध्यावधि चुनावमै देशलाई लाने गरी बढिरहेको छ । यसअघि ओलीले घोषणा गरेको चुनाव असंवैधानिक भन्दै सर्वोच्च अदालतले प्रतिनिधि सभा ब्युँताएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot