काठमाडौं, १५ वैशाख । गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमाथि मतदान हुनुअघि रोचक घटनाहरु भइरहेका छन् । सांसदहरुको ह्वीप उल्लंघन र फ्लोर क्रसको सम्भावनाहरु देखिएको छ ।
अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको जनमोर्चाका सांसद खिमविक्रम शाही वेपत्ता भएका छन् । उनलाई खोज्न काँग्रेस सांसद मेकलाल श्रेष्ठ र जनमोर्चाकी सांसद पियारी थापा गएका छन् ।
स्वतन्त्र सांसद दिपक मनाङे पनि फोन स्वीच अफ गरेर बसेका छन् । उनलाई काठमाडौंबाट नेताहरुले फोन गरेर हैरान पारेको बुझिएको छ । पक्ष र विपक्षमा मतदान गर्न दुवैतर्फका नेताहरुले बारम्बार फोन गरेपछि मनाङे स्वीच अफ गरेर बसेका छन् । उनको स्वीच अफले तरङ्ग आएको छ ।
मतदान शुरु भएमा केही सांसदहरु अनुपस्थित भइदिन सक्छन् । प्रस्तावको पक्षमा मत नपुगे नेकपा एमालेबाटै फ्लोर क्रसको सम्भावना पनि देखिएको छ । गण्डकी प्रदेशमा माधव नेपाल निकट सांसद पनि छन् ।