Logo

सांसद खिमविक्रम शाहीको २४ घन्टा, के के भयो



काठमाडौं, १६ वैशाख । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही चिरक अस्पतालमा रहेको पुष्टि भएको छ । उनी स्वयंले अस्पतालमा उपचार गरिरहेको स्पष्ट पार्ने गरी विज्ञप्ति जारी गरेका छन् । वेपत्ता भएका भनिएका शाहीको विज्ञप्ति आएपनि उनीबारे अझै आशंका मेटिएको छैन ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुने बेलामा उनी सम्पर्कमा नआएपछि खोजी भएको थियो । त्यसपछि चिरक अस्पतालमा रहेको खुलेको हो ।

सांसद शाही वेपत्ता भएको भन्दै जनमोर्चाकी पियारी थापासहित तीन सांसद खोजीका लागि हिंडेका थिए । तर, उनीहरुले अवस्थाबारे केही भन्न सकेनन् । त्यसपछि सांसद पियारी थापाले आफ्ना पार्टीका सांसदको अवस्थाबारे जानकारी दिन माग गरिन् । उनको निवेदनका आधारमा प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भयो ।

१५ वैशाखको विहान सांसद खिमविक्रम शाहीको कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएको थियो । तर, उनको अर्को रिपोर्ट पोजेटिभ आएको भनिएपछि तरंग नै आयो ।

जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले सांसद शाहीबारे जानकारी दिन सरकारसँग अनुरोध नै गरिन् । यसबारे सर्वत्र चासो बढेपछि खिमविक्रम शाही स्वयंले सदन जान तयार हुँदा बेहोश भएपछि अस्पताल लगिएको स्पष्टोक्ति दिए । उनले पार्टी निर्णयप्रति प्रतिवद्ध भएको उल्लेख गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको पक्षमा मतदान गर्ने विज्ञप्तिमा भनका छन् ।



प्रतिक्रिया दिनुहोस्