Logo

उदयपुर सिमेन्टका मेशिन र उपकरण जीर्ण



काठमाडौं, बैशाख १७ । निजीक्षेत्रबाट सञ्चालित सिमेन्ट उद्योगहरू नयाँनयाँ प्रविधि भित्र्याउने होडमा लागिरहँदा सरकारको लगानी भएको उदयपुर सिमेन्ट भने २९ वर्ष पुराना मेशिन तथा उपकरणहरूबाट उत्पादन गरिरहेको छ ।

कारखानाका जीर्ण मिल उपकरणहरूबाट उत्पादन गर्दा उद्योग ब्रेकडाउन हुने र उत्पादनमै समस्या हुने देखिएको छ । प्रतिस्पर्धी सिमेन्ट बजारमा उद्योगलाई आफ्नै ब्रान्ड नै जोगाउनसमेत गाह्रो परिरहेको छ । उद्योगसँग भएका केही पुराना उपकरणले राम्रो काम गर्ने भएकाले तत्कालका लागि ७० करोड रुपैयाँ लगानी आवश्यक भएको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए । १ मेगावाट सोलारसहित केही नयाँ र जीर्ण भएका मेशिनको मर्मतसम्भारका लागि तत्काल उक्त लगानी गर्नुपर्ने उनको भनाइ छ ।

‘तर, नयाँ प्लान्ट तथा मेशिनहरू जडान गर्ने हो भने अधिकतम ४ अर्ब रुपैयाँसम्म लाग्ने देखिन्छ,’ न्यौपानेले भने, ‘तर, अहिले नै कारखानामा आवश्यक किल्न सेल (भट्टी) र रिइन्फोर्सड् सस्पेन्सन प्रीहिटर (आरईसपी) जडान गर्न र मर्मतसम्भारका लागि लगानी गर्न आवश्यक छ ।’ जीर्ण उपकरण हुँदा ब्रेकडाउन हुने र मर्मतसम्भार पनि गरिरहनु पर्ने भएकाले अहिले औसतमा दैनिक ३०० मेट्रिक टन सिमेन्ट उद्योगबाट उत्पादन हुँदै आएको छ । यही उत्पादन गर्न पनि करीब ३५ करोड लगानी गर्नुपर्ने न्यौपानेले बताए ।

दैनिक सिमेन्ट उत्पादन नै कम हुँदा उद्योगले चुनढुंगा पनि १० प्रतिशतमात्रै प्रयोग गर्दै आएको छ । उद्योगको खानी क्षेत्रमा ७ करोड ३० लाख मेटन सिमेन्ट उत्पादन गर्न सक्ने उच्च गुणस्तरको चुनढुंगा भए पनि अत्यन्त कम मात्रामा यसको प्रयोग भएको छ ।

उद्योगबाट दैनिक ११ सय मेटन सिमेन्ट उत्पादन गर्ने हो भने त्यसमा थप करीब २५ करोड लगानी गरी आरएसपी मेशिन जडान गर्नुपर्ने अध्ययनले देखाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot