काठमाडौं, १७ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पास गर्न संख्या नपुग्ने बताएका छन् । उनले संख्या नपुग्ने भएकाले आफूहरु अगाडि नबढेको बताए ।
‘अविश्वासको प्रस्ताव के का लागि दर्ता गर्ने ? दर्ता गरेपछि फेल भएमा २ वर्ष फेरि दर्ता गर्न पाइँदैन,’ बुढानिलकण्ठस्थित निवासमा पत्रकार सम्मेलन गरेर भने । अविश्वासको प्रस्ताव फेल भएमा खेल नै सक्किने बताए ।
जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव पास गर्न सहयोग गर्ने अवस्था नभइसकेको बताए । तर, आफूले जसपासँग कुराकानी गरिरहेको खुलाए । जसपासँग के के कुरा भयो भनी सोधिएको प्रश्नमा उनले भने,‘सबै कुरा भन्दिनँ, कुरा भइरहेको छ ।’
देउवाले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको समेत आलोचना गरे । पौडेलले आफू सभापति भएदेखि अप्ठ्यारो पारेको आरोप लगाए ।
देउवाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदबाट पारित गर्नुपर्ने बताए । उनले भने,‘एमसीसी त्यत्रो ठूलो अनुदान हो । यसबारे भ्रम फेलाएको छ । अमेरिकी सेना आउँछ भन्ने ? झुटा प्रचार गर्ने ?’
एमसीसी पारित भएन भने आफूलाई अप्ठ्यारो पर्छभ भनेर कतै नभनेको बताए । उनले भने,‘भनेकै छैन । होइन, होइन, होइन ।’