Logo

सत्ता टिकाउन हरसम्भव प्रयास



पोखरा, बैशाख १८ । कोरोना भाइरस संक्रमणले यतिबेला सबैलाई हायलकायल पारिरहेको छ। सरकारले भेला, जमघट, सभा–सम्मेलनमा रोक लगाएको छ। ठुला सहरमा निषेधाज्ञा लागु छ। नागरिक कोरोना त्रासले घरबाहिर निस्कन सकेका छैनन्। कोरोनाका बिरामीले बेलैमा उपचार नपाएर ज्यानै फाल्नुपरेको खबर घन्टैपिच्छे आइरहेका छन्।

तर राजनीतिक दल भने कोरोनाको यो खबरभन्दा निकै नै टाढा देखिन्छन्। कोरोना नियन्त्रण र संक्रमितको उपचारमा लाग्नुभन्दा सत्तामा टिकिरहने दाउमा दलहरू छन्। त्यसको ज्वलन्त उदाहरण हो, गण्डकी प्रदेशको सत्ता परिवर्तनको प्रयास। कोरोनाले सबैतिरको अवस्था नाजुक बनाइरहँदा राजनीतिक दल भने कुनै न कुनै बहानामा सत्तामा टिकिरहने ध्याउन्नमा रहेको विश्लेषक बताउँछन्।

राजनीतिक विश्लेषक सुरेन्द्र थापामगर भन्छन्, ‘सामान्य नागरिकलाई कोभिडको त्रासले सुरक्षित बस्नुपर्छ भन्ने तर दलका नेता भने सत्ता जोगाउनका लागि भीडभाड गर्न पाउने अवस्था आएको छ। दलहरूले संक्रमणलाई भन्दा कुर्सीलाई प्राथमिकता दिएका छन्। अन्तिममा त्यही कोरोना नै सत्ता टिकाउने कारक बन्न थालेको छ।’

कोरोना महामारी चलिरहँदा गण्डकी प्रदेश सरकार फेरबदलको प्रयास सुरु भएको थियो। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध दलहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। राष्ट्रिय जनमोर्चाका सांसदको पनि समर्थन हुने देखेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। तर प्रस्तावलाई निर्णयार्थ पेस गर्ने दिन गत बुधबार एक्कासि जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कविहीन भएपछि राजनीतिक माहोल एकाएक बदलियो। किनभने शाही अनुपस्थित हुँदा अश्विासको प्रस्ताव फेल हुने सम्भावना थियो। शाही सम्पर्कविहीन भएको भन्दै राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले शाहीको खोजी गर्न र सार्वजनिक नभएसम्म सदन अघि बढाउन नहुने भन्दै निवेदन दिइन्। त्यसपछि प्रदेशसभा स्थगित भएको छ।

प्रदेशसभा स्थगित भएपछि तत्कालै सरकार फेरबदलको प्रयास केही मत्थर भएको देखिए पनि यसले बिहीबार पुन नयाँ मोड लियो। आफू विरुद्धको अविश्वासको प्रस्तावलाई थप कमजोर तुल्याउने आकांक्षासहित मुख्यमन्त्री गुरुङले नयाँ कदम चाले। ‘डन’ को पहिचान बनाएका मनाङ (ख)बाट विजयी राजीव गुरुङ (दीपक मनाङे)लाई मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुदमन्त्री बनाएर आफ्ना लागि बलियो स्थान बनाउने प्रयास गरेका छन्। किनकि मनाङेको मत पनि अविश्वास प्रस्तावको पक्षमा गए आफूविरुद्धको अविश्वास प्रस्ताव सहजै पारित हुने देखेपछि मुख्यमन्त्री गुरुङले मनाङेलाई आफ्नो पक्षमा टिकाइराख्न मन्त्री पद ‘उपहार’ दिएका हुन्।

सुरुमा मुख्यमन्त्री गुरुङ नेतृत्वकै सरकारको निरन्तरताको पक्षमा उभिएका मनाङेले अविश्वास प्रस्ताव आएपछि भने जता बहुमत पुग्छ उतै उभिने बताउन थालेका थिए। जसकारण मुख्यमन्त्री गुरुङ सशंकित थिए। तर अब मनाङेलाई आफ्नो हातमा लिएर मुख्यमन्त्री गुरुङले केही ढुक्क हुने प्रयास त गरे तर त्यो मात्र सरकार जोगिन काफी नभएको विश्लेषण गरिएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्