Logo

पाँच पालिकामा सेना, सशस्त्रको फरवार्ड पोस्ट ४४ स्थानमा



झापा, १८ वैशाख: कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताए। गत वर्षसमेत कोभिड–१९ को महामारी तीव्रगतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकबल गाउँपालिकामा परिचालन गरिएको थियो ।

सेनाले बनाउन थाल्यो होल्डिङ सेन्टर

नेपाली सेनाले काँकडभिट्टा नाकामा होल्डिङ सेन्टर निर्माण गर्न थालेको छ । श्रीनाथ गणबाट क्याप्टेन विजय निरौलाको कमाण्डमा गएको टोलीले काँकडभिट्टा खेलमैदानमा शुक्रबारदेखि होल्डिङ सेन्टरको पूर्वाधार निर्माणको काम शुरु गरेको हो । पहिलो दिन सेनाको टोलीले खेलमैदानको आधा भाग ओगट्ने गरी रेखाङ्कन गरेको छ भने बाँसलगायत सामग्री किनेर घेराबेरा बनाउन थालेको छ । यहाँ एक हजार क्षमताको होल्डिङ सेन्टर बन्न लागेको हो ।

सीमामा सशस्त्रको ४४ वटा फरवार्ड पोस्ट

यसैबीच झापामा भारतसँगको १४४ दशमलव दुई किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीले ४४ वटा फरवार्ड पोस्ट स्थापना गरेको जनाएको छ । सशस्त्र प्रहरी बल २ नं गणका सूचना अधिकारी प्रेम भण्डारीका अनुसार सीमा सुरक्षा र अपराध नियन्त्रणका लागि गत वर्ष १३ वटा फरवार्ड पोस्ट स्थापना गरिएका थिए । यसपालि ३१ वटा पोस्ट सीमा क्षेत्रमा स्थापना गरिएका छन् ।

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्ररूपमा फैलिन थालेपछि सीमाबाट अवाञ्छित आवागमन हुन नदिन सशस्त्र प्रहरीले फरवार्ड पोस्ट स्थापना गरेको उहाँले बताउनुभयो । झापाका सीमावर्ती क्षेत्रमा हाल १८ वटा बोर्डर आउट पोस्ट रहेका छन् । सशस्त्र प्रहरीको परिचालन र पोस्टको बढोत्तरीपछि सीमा क्षेत्रमा नेपाली सुरक्षा व्यवस्था कसिलो भएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्