रोशन शेरचन : सबै काम सकेर पनि एक दिन उब्रेको थियो बर्लिनमा । दितमारले सोधे, ‘कहाँ जाने आज ?’ मैले भनेँ– धेरै टाढा नभए आर्ट ग्यालरी कसो होला ? यहाँको न्यू नेसनल ग्यालरी अत्यन्त चर्चित छ भन्ने सुनेको छु । दितमारले भने, ‘मेरो पनि इच्छा छ, त्यो ग्यालरी हेर्ने तर समय निकाल्न सकेको थिइनँ । त्यहीँ जाऔँ । धेरै टाढा छैन । एकाध घन्टाको बाटो हो बसमा ।’ उनको सकारात्मक जवाफको पखेटा लगाएर मेरो इच्छा उड्न थाल्यो ।
बाहिरबाट आकर्षक देखिँदैनथ्यो, ग्यालरी भवन । फलामको गोलो पिलरले थामेको एकतले भवन सिमेन्टको । सिसै सिसाको झ्याल भएको । भवन अगाडि प्रशस्त खुला स्थान थियो । जहाँ चारपाटे ढुङ्गाहरू सुन्दर ढङ्गले बिछ्याइएका थिए । मध्यभागमा फलाम हो वा टिनका पाताबाट जिराफ, ऊँट वा त्यस्तै जनावरको जस्तो आकृतिको मूर्तिकला थियो । आर्ट ग्यालरीको छनक दिने संरचना ।
टिकट काउन्टर अगाडि लामो लाइन थियो । दितमारको पछि म पनि लाइनमा उभिएँ । कलाप्रेमीहरूको रुचि र आशक्ति देख्दा मलाई रमाइलो अनुभूतिले छोप्यो । लाइनमा बसेर मैले सोचिरहेको थिएँ– मेरो मुखबाट आर्ट ग्यालरी नै जाऔँ भन्ने जवाफ किन आयो ? भूपरिवेष्ठित देशको बासिन्दा मेरा निम्ति त समुद्री किनारा पो आकर्षण हुन्थ्यो । हिमालको उच्चताको सानोतिनो अनुभव मैले मुस्ताङमा गरेको भए तापनि समुद्रको फैलावट मैले अनुभव गर्न पाएको थिइनँ वा आँखा तिरमिराउने अत्याधुनिक सुपर मार्केट वा त्यस्तै केही । टिकटको लाइनभन्दा पनि लामो मस्तिष्कको लाइनमा धेरै अमूर्त कुरा सलबलाउन थाले ।
कलाले देशीय सीमा भत्काउँदो रहेछ भन्ने अनुभव मलाई धेरैअघि भएको थियो । विक्रमाब्द २०४१–४२ तिर । कसोकसो न्युरोडस्थित अमेरिकी लाइब्रेरीमा साल्भाडोर डालीको पेन्टिङ् हेर्न पुगेको थिएँ । पतझड रूखका हाँगामा पग्लिएका घडी लत्रिरहेको दृश्यले मेरो मानसको गहिरो तललाई छोएको थियो । म भित्रभित्र कतै तर्सेको थिएँ । त्यो स्पर्शको अनुभूति लामो समयसम्म कायम रह्यो । विचित्रको पेन्टिङ् थियो त्यो । बन्जर मरुभूमि थियो पृष्ठभूमिमा । नाम मात्रको एउटा रूख थियो । अस्थिपञ्जरजस्तो खङ्ग्रङ्ग । एउटै पात नभएको । मात्र दुई–तीनवटा बुच्चो हाँगा भएको । रूख अस्वाभाविक रूपमा काठको बाकसबाट उम्रिएको देखिन्थ्यो । बन्जर भूमिमा चिन्न गाह्रो, हेर्दा कुकुरजस्तो देखिने घिनलाग्दो जीवको ढाडमा पग्लिएको अर्को घडी देखिन्थ्यो । पग्लिँदै गरेको घडीको सुईले समय बताइरहेको थियो, सायद सग्लो होइन, चुहिएकै समय । मृत्यु र सन्त्रासको छायाँले छोपेको पेन्टिङ्मा घडी मात्र जीवित प्रतीत हुन्थ्यो । टिक…टिक…टिक… ।
घडीहरू निर्जीव यन्त्र होइनन्, सलबलाइरहेका जुकाजस्ता देखिन्थे । पग्लिँदै गरेको घडी हाँगाबाट खसेर मरुभूमिमा ओएसिस जन्मिने हो कि ? हृदयको अटल गहिराइमा आशावादिता थियो । त्यो अनुभवलाई शब्दमा ठ्याक्कै भन्न कठिन छ । मृत्यु, सन्त्रास, ऐकान्तिकता, भयावहता र गर्भमा सुषुप्त रहेको जीवनको उपस्थिति । यी पाँच विम्बमा सायद पेन्टिङ्को प्रवृत्ति बढी समेटिन्थ्यो । धेरै वर्षपछि थाहा भयो, त्यो अतियथार्थिक कला रहेछ । सपनामा देखिने असम्भव, अमूर्त विम्ब र प्रतीकलाई दर्साउने प्रवृत्तिको । पेन्टिङ्को शीर्षक पनि थाहा पाएँ, परसिसटेन्ट अफ मेमोरी ।
यो त्यो समयको कुरा थियो, जब म भैरहवाबाट पहिलो पटक काठमाडौँ छिरेको थिएँ । काठमाडौँ कौतुकमय थियो, मेरा निम्ति । उमेर त्यस्तै १८-१९ वर्षको हुँदो हो । किशोरसुलभ अस्थिरता थियो साथमा । जीवन यात्रामा पार गर्नैपर्ने जेब्राक्रसिङ्को भेउ नपाएको त्यसताका अध्ययनबाहेक समयको सानो अंश अमेरिकन लाइब्रेरीमा बित्थ्यो । धेरै समय भिडियो देखाइने मखन र गुच्चाटोलका गल्लीमा ।
मेरो शुल्क पनि दितमारले तिरे । पहिले नै भनेको भए लाइनमा उभिएर दुःख पाउन्नथेँ । शुल्क तिरेकामा भने आभारी भएँ । त्यसपछि हामी प्रवेशद्वारतर्फ लम्कियौँ । भित्र पसेपछि थाहा भयो, ग्यालरी बेपत्ताको ठूलो रहेछ । अन्डरग्राउन्ड कक्षहरू रहेछन् । आगन्तुकलाई मेसिन लगाएर चेक गरिसकेपछि हामीलाई ब्याकप्याक र क्यामरा त्यहीँ छाड्न भनियो । सिँढी ओर्लनासाथ पेन्टिङै पेन्टिङ् झुन्ड्याइएको ठूलो कक्षमा हामीले आफूलाई पायौँ ।
पहिलो पेन्टिङ् नर्वेजियन पेन्टर इडभर मुन्चको थियो । मुन्च मेरा निम्ति अपरिचित नाम थिएन । उनको विश्वप्रसिद्ध कलाकृति द स्क्रिमका बारेमा बीबीसीमा सुनेको थिएँ । एलियनजस्तो विरूप मान्छेले कहालिएर कान थुनेको दृश्य सम्झन्छु, द स्क्रिमको । फिका रङ्गमा फ्रेस्कोझैँ लाग्ने यहाँका अर्धमूर्त पेन्टिङ्हरूलाई भने मैले मन पराउन सकिनँ । पेन्टिङ्मा प्रयुक्त फिका रङ्ग र धमिलो रेखाकृतिले मलाई खिचेन । म अगाडि बढेँ । हठात् विस्मित् बन्न पुगेँ, अगाडि पाब्लो पिकासोका पेन्टिङ् टाँगिएका रहेछन् ।
पिकासोका पेन्टिङ्हरू एकाध हातको दूरीबाट हेर्दा सपनाझैँ लाग्यो । पिकासो निकै सुनेको नाम थियो । ध्यानको मनोदशा अनुभव भयो । लाग्यो, उनको घनवादमा म उभिएको समयको अर्को आयाम थपिएको छ । त्यसैले तेस्रो आयामबाट त्यो चौथो आयामतर्फ उक्लिँदै छ । मैले शीर्षकहरू नोट गरेँ । वुमन सिटेड इन एन आर्मचेयर (१९०९), वुमन प्लेइङ् अ भ्वायलिन (१९११), बेस्ट अफ अ वुमन अन अ ग्रे ब्याकग्राउन्ड (१९४३) र रिक्लिनिङ् वुमन विथ अ बकेट (१९५८) । प्रयोगशील कलाहरू हेरेर मन्त्रमुग्ध भएँ । उनको विश्वचर्चित कलाकृति गुयर्निका भने ग्यालरीमा थिएन ।
कलाको मात चढेको थियो मलाई । दितमार कतै छुटेको थियो । फोटो खिच्न प्रतिबन्ध रहेछ । क्यामरा प्रवेशद्वारमै छाड्नुपर्यो । आफूले सुनेका र चिनेका पेन्टरको कलाकृतिले समय लिन्थ्यो नै, नाम नसुनेका कलाकारहरूको कलाकृतिले पनि मनमस्तिष्कलाई बलियो गरी आकर्षित गर्यो । मानिसको रुचिको पनि सीमा हुन्छ । त्यही सीमामा रहेर कहिल्यै नसुनेको ओटो डिक्स र माक्स बेकमनका खस्रो, शुष्क र बर्बर विषयवस्तु समेटिएको पेन्टिङ्ले मलाई खिच्यो । प्रथम विश्वयुद्धको विभीषिका, सैनिक सत्ताको कठोर नियन्त्रण, नैतिक ह्रास र आत्मध्वंश भाव पेन्टिङ्हरूमा मुखरित थिएँ ।
डिक्सको फ्लान्डरस् (१९३४–३६) चित्रकलाको अझसम्म सम्झना छ । सुदूर क्षितिजमा घाम अस्ताउँदै छ । गोला–बारुदको धूवाँको मुस्लोले वायुमण्डल निसासिँदो देखिन्छ । सर्वत्र युद्धको सन्त्रास व्याप्त छ । सैनिकका लासहरू छरिएका छन् । रूखहरूसमेत युद्धले लुछेर तर्साउने भूतझैँ ठिङ्ग उभिएका छन्, अस्थिपन्जरझैँ । डढेर कालो भएका छन् कोइलाजस्तो । पातहरू झरेर खङ्ग्रङ्ग मृत्यु आगमनको सङ्केत गरेको छ । लासको थुप्रो छ । मरेका केही सैनिकका हातमा बन्दुकको सङ्गीन उस्तै छन्, शत्रुलाई ताक्दै उचालिएको । धरती रगताम्मे देखिन्छन्, अस्ताउँदै गरेको घामझैँ । समयको मृत्यु भएको छ । जीवित छन् त मात्र क्यानभासभरि निस्तब्धता ।
बिस्तारै पाइला चाल्दै अर्को पेन्टिङ्तिर बढ्छु । हेर्छु । गम्छु । दीर्घ निश्वास फेर्छु । क्रमशः अर्को कक्षमा पुग्छु । स्कल्प्चर सेक्सन रहेछ । म स्कल्प्चर बुझ्दिनँ । तसर्थ, बढी समय बिताउँदिनँ । अर्को कक्षमा मोडिन्छु । आहा ! यहाँ भने मेरा प्रिय पेन्टर साल्भाडोर डालीका कलाकृति रहेछन् । नोटमा टिप्छु शीर्षक, पोर्ट्रेट अफ मिस्टर्स इसाबेल स्टाइलर्स टास (१९४५) । त्यस कृतिमा महिलाको वक्षस्थलबाट सानो बिरुवा पलाएर आकाशतिर उचालिएको दृश्य छ । विचित्रको चित्रकारिता । सपनामा आउने कल्पनै गर्न नसकिने विचित्र दृश्यलाई डालीले चित्रमा उतारेका छन् । स्वप्न दृश्यहरू । ड्रिम भिजन्स । सपना देख्दाको क्षण स्वप्नदृश्य यथार्थभन्दा पनि यथार्थ लाग्ने भएकाले अतियथार्थ । त्यसैले यस्ता प्रवृत्ति र शैलीको कलालाई अतियथार्थिक कला भनियो । सर्रियालिस्ट । उनका अन्य पेन्टिङ् रहेनछ । खिन्न भएँ । परसिसटेन्ट अफ मेमोरी, टेम्पटेसन अफ सेन्ट एन्थोनी र शीर्षक नसम्झेका अनेकौँ कलाकृति म्यागेजिनमा मात्र देखेको मैले डालीको मौलिक कला पहिलोचोटि यहीँ हेर्न पाएँ ।
रेने मागरिट, लुडविग माइडनर, पाउल ली, ओस्कार कोकोस्का, इमिल नोल्ड, रोबर्टो माटा, पल गोउगिन, जर्ज ग्रोस्ज, माक्स अन्स्ट आदिका अद्भुत कलाकृति हेरेँ । पछिल्ला दुई चित्रकार जर्ज र माक्स दादावादी चित्रकार मानिन्छन् । दादावादीहरू सधैँ युद्ध र शासक वर्गको विपक्षमा सक्रियतापूर्वक उभिए । अरू अनेकौँ कलाकारको नाम मैले टिपिनँ । अन्तिम कक्षमा आइपुग्दा पोस्टर देखियो । दुई महिला शृङ्गार कक्षमा मेकअप गरिरहेको दृश्य थियो । आश्चर्य लाग्यो, आर्ट ग्यालरीमा पोस्टर कहाँबाट आइपुग्यो ?
नजिक पुग्दा थाहा पाएँ, त्यो पनि कलाको अर्को रूप रहेछ, हाइपर रियालिस्टिक आर्ट । फोटोग्राफजस्तो लाग्थ्यो । पेन्टिङ्को चरित्रको रत्तिभर अंश थिएन । अचम्म लाग्यो । चित्रकारहरूको बुद्धिले पनि के के खोजी ल्याउँछ । सधैँ नयाँ दिने प्रयत्न गरिरहन्छ । जतिसुकै राम्रो भए पनि नौलोपन भएन भने सिर्जना भनिँदैन । सिर्जना भनेकै अघि अस्तित्वमा नभएकालाई जन्म दिनु रहेछ ।
मस्तिष्कमा नानाभाँती कुरा खेलिरहेका थिए । धेरैथरी विषयवस्तु प्राप्त भएको थियो । एक फन्को मारेर ढोकामा आइपुग्दा दितमार नजिकै उभिइरहेको देखेँ । उनी अलि चाँडै सकेर पर्खंदै रहेछन् मलाई । झन्डै तीन घन्टा बितेछ ग्यालरीमा । जोसिँदै उनलाई सुनाएँ– आई रियली इन्ज्वाइड सिइङ् दोज आर्ट्स । उनले नजोसिएरै प्रतिक्रिया दिए, ‘आई टू ।’ टिकट लिने लाइन थप लम्बिएको थियो । ब्याकप्याक र क्यामरा लिएर बाहिर निस्किँदा बर्लिनको नीलो आकाशमा प्रचण्ड घाम लागिरहेको थियो । ग्यालरी एसीका कारण शीतल थियो । मूलसडकमा भने मज्जाकै गर्मी महसुस भयो । घडी हेरेँ । दिउँसोको दुई बजेको थियो । आधा दिन सिङ्गै बाँकी थियो । दितमारले बसमा उक्लँदै सोध्यो, ‘ह्वाट नेक्स्ट रोशन ?’ रापिँदै गएको प्रचण्ड दिनलाई ठेगान लगाउन मैले भनेँ, ‘ड्रिङ्किङ् बियर दितमार ।’
दोस्रो वा तेस्रो स्टेसनमा ओल्र्यौं । नजिकैको बारमा पस्यौँ । दितमारले सोध्यो, ‘कुन बियर ?’ मैले बर्लिनमै बनेको कुनै बियर रोजेँ । बियरका दुईवटा बोतल र ग्लास लिएर आइपुगिन्, राम्री वेटरेस । बर्लिनर मज्जाले पियौँ त्यसरी नै, जसरी दितमार र मैले लमजुङको भुजुङमा कोदोको खाँटी तीनपाने पिएका थियौँ । उनी डचेवेलेबाट रिपोर्टिङ्का निम्ति भुजुङ खटिएका थिए । दुई–दुई बोतल बर्लिनर पिई बारबाट निस्कँदा रमरम भइसकेको थियो ।
औपचारिकताको पर्खाल लमजुङको उकालोमा भत्किसकेकाले मलाई उनीसँग सङ्कोच लागेको थिएन । डर लाग्ने त झन् कुरै भएन । डर त भुजुङमा बेस्सरी लागेको थियो । आमा समूहको अनुरोधलाई टार्न नसकेर उनले कोदोको रक्सी बढी नै पिएका थिए । पहिलो पटक भएकाले सायद उनले मात्राको अनुमान लगाउन सकेनन् । उनलाई ढुङ्गे सिँढी उकाल्न हम्मेहम्मे परेको थियो । कहीँ लडेर हातखुट्टा भाँचिने हो कि भनेर म धेरै डराएको थिएँ । यहाँ त्यस्तो केही थिएन । आनन्द आइरहेको थियो । यहाँ हामीलाई फराकिलो र सुरक्षित पेटी उपलब्ध थियो दिउँसै मात चढेर हिँड्न ।