काठमाडौँ, १८ वैशाख: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति प्रा विदुर पौडेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । पौडेलको आज बिहान काठमाडौँको पशुपतिमा असामयिक निधन भएको हो ।
सभापति देउवाले शोक सन्देशमार्फत उनको निधनको खबरले दुःख लागेको उल्लेख गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । पौडेल कांग्रेसका पूर्वमहासमिति सदस्य, पूर्वीय दर्शन र साहित्यका धरोहर एवं प्रजातान्त्रिक समाजवादका व्याख्यातासमेत थिए । विसं २००१ मा जन्मनुभएका पौडेलले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनले कांग्रेस र मुलुकले एक असल नेता र बौद्धिक व्यक्तित्वलाई गुमाएको बताए ।
यसैगरी कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले पनि शोक सन्देशमार्फत पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरेका छन्।-रासस/File Photo