Logo

वस्तु विनिमय बजारसम्बन्धी निर्देशिका संशोधन गरिँदै



काठमाडौं, बैशाख १९ । दुई पटकसम्म वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) कम्पनीका लागि अनुमति दिन आवेदन खुला गरेर खारेज गरेको नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अहिले नीतिगत व्यवस्थालाई संशोधन गर्न थालेको छ ।

बोर्डले कम्पनीहरूको प्रकृतिअनुसार चुक्तापूँजीको सीमा, योजना, आवेदन प्रक्रिया र सैद्धान्तिक अनुमतिपत्र (एलओआई) दिने प्रक्रियासहित ‘वस्तुविनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्थासम्बन्धी निर्देशिका, २०७७’ को मस्यौदा सार्वजनिक गरेको छ । संशोधित निर्देशिकाले कम्पनीको प्रकृतिअनुसार न्यूनतम चुक्ता पूँजीको सीमा बढाएर १ अर्बदेखि २ अर्ब रुपैयाँसम्म तोकेको छ । यसअघि रू। ५० करोडदेखि १ अर्ब हुनुपर्ने व्यवस्था थियो ।

बोर्डले शुक्रवार निर्देशिकाको मस्यौदा सेबोनको वेबसाइटमा सार्वजनिक गर्दै १५ दिनभित्र सरोकारवालाबाट सुझाव मागेको छ । यसअघि यस्तो निर्देशिकालाई सर्वसाधारणमा सार्वजनिक गर्ने गरेको थिएन । सरोकारावालाबाट पछि गुनासो नआओस् भन्नका लागि प्राप्त प्रतिक्रियाको आधारमा औचित्य हेरेर निर्देशिकालाई अन्तिम रूप दिने बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता नीरज गिरीले बताए ।

उनका अनुसार पहिला कम्पनी छनोटका लागि मापदण्ड मात्र तोकेको थियो तर कसरी आवेदन दिने, कुन अवस्थामा एलओआई दिने र अनुमति प्रमाणपत्र दिने भनेर सबै कुरालाई व्यवस्थित बनाउन खोजिएको छ ।

भीष्मराज ढुंगाना बोर्डको अध्यक्ष भएपछ सञ्चालक बोर्डले नै अनुमति दिने नीतिलाई थप व्यवस्थित गर्नु भनेको थियो ।

त्यसैअनुसार निर्देशिका संशोधन गर्न लागिएको हो । बोर्डले शुरूको आवेदनलाई खारेज गरेर दोस्रोपटक लिएको आवेदनलाई भने निरन्तरता दिने भएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot