Logo

कोरोना सङ्क्रमितको सङ्ख्या .हालसम्मकै उच्च



काठमाडौं, वैशाख १९ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या सबैभन्दा उच्च देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार दशभर थप पाँच हजार ७६३ जना व्यक्ति सङ्क्रमित भएका छन् । दोस्रो लहरको सङ्क्रमण देखा परेसँंगै सङ्क्रमितको सङ्ख्या उच्च भएको हो ।

यसअघि पहिलो लहरको सङ्क्रमणका क्रममा गत कात्तिकमा एकै दिन पाँच हजार ७४३ जना सङ्क्रमित भएका थिए । राजधानी उपत्यकासँगै देशका कति९पय जिल्लामा निषेधाज्ञा लगाइरहँदा सङ्क्रमितको सङ्ख्या भने हालसम्मकै उच्च भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार १४ हजार ४०३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा पाँच हजार ७०६ जना सङ्क्रमित थपिएका हुन् ।

यस्तै ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जना सङ्क्रमित थपिएर पाँच हजार ७६३ पुगेको हो । नयाँ सङ्क्रमणसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन लाख २८ हजार ८९३ पुगेको छ भने निको हुनेको सङ्ख्या दुई लाख ८२ हजार ३८२ पुगेको छ । शनिबार नेपालमा थप १९ जना सङ्क्रमितको मृत्यु भएको छ । शुक्रबार ३३ जना र बिहीबार ३५ जना सङ्क्रमितको मृत्यु भएको थियो ।

योसँंगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार २९८ पुगेको छ । यस्तै शनिबार थप एक हजार २८७ जना सङ्क्रमित निको भएका छन् । हाल निको हुने दर ८५ दशमलव ९ प्रतिशत रहेको छ । काठमाडौँ उपत्यकामा सङ्क्रमण दर उच्च रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा दुई हजार ४९५ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा एक हजार ९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना सङ्क्रमित थपिएका हुन् ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४३ हजार २१३ पुगेको छ भने क्वारेन्टाइनमा ६७ जना छन् । यसैबीच देशभर हाल ५११ जना सङ्क्रमित विभिन्न अस्पतालको आाईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्