Logo

लुम्बिनीमा शंकर पोखरेललाई रोक्न माधव नेपालले अस्त्र फाल्लान् ?



काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशमा एकल बहुमतको मुख्यमन्त्री बन्नबाट शंकर पोखरेललाई रोक्ने अस्त्र अब माधवकुमार नेपालसँग मात्र बाँकी छ । नेपालको निर्देशनमा उनी निकट एक सांसदले मात्र राजीनामा दिएर तत्काल स्वीकृत भएमा एमाले अल्पमतमा पर्नेछ । एकल बहुमतको मुख्यमन्त्री बन्नबाट पोखरेल रोकिनेछन् । तैपनि, उनी सबैभन्दा ठूलो दलको प्रदेश संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री बन्न सक्नेछन् ।

एमालेबाहेकको बाँकी दलको बहुमतको सरकार गठनको ढोका खोल्न कम्तिमा २ जना एमाले सांसदले राजीनामा दिनुपर्ने हुन्छ । त्यतिबेला एमाले पनि अल्पमतमा पर्नेछ ।

यो अवस्था सृजना गर्न निकै कठिन छ । असम्भव भने छैन । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गर या मरको लडाईँमा रहेको घोषणा गरिसकेका नेपालले त्यो हदसम्मको राजनीतिक अस्त्र नहाल्लान् भन्न सकिदैन ।

यसअघि कर्णाली प्रदेशमा ४ जना माधव नेपालनिकट एमाले सांसदहरुले फ्लोर क्रस गरेका थिए । त्यसमा नेपालले नै राजनीतिक अस्त्र फालेर ओलीनिकट यामलाल कँडेलको मुख्यमन्त्री बन्ने ढोका बन्द गरिदिएका थिए ।

पोखरेललाई रोक्न पनि नेपालले फेरि नयाँ अस्त्र फाल्ने सम्भावना रहेको छ । उनीनिकट ३ प्रत्यक्ष निर्वाचित प्रदेश सभा सांसदले राजीनामा दिएमा नयाँ घटना विकास हुनसक्छ ।

यथास्थितिमा लुम्बिनीमा एमालेका ४१, काँग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १८, जसपाका २, जनमोर्चाका १ सांसद संख्या रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्