काठमाडौं, १९ बैशाख । पूर्वमन्त्री तथा बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले अमेरिकी सहयोग एमसीसी नेपालको हितमा रहेको बताउँदै यसलाई अविलम्ब संसदबाट पारित गर्नुपर्ने माग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो माग गरेका हुन् । पासवानले लेखेका छन्–‘अमेरिकी सहयोग एमसीसी नेपालको हितमा छ । यसलाई अविलम्ब संसदबाट पारित गर्नुपर्छ । तर, नेपालका प्रमुख दलहरु भने अहिलेसम्म पनि यसबारेमा एकमत हुन नसक्नु विडम्बनाको कुरा हो ।’
पासवानले नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमसीसी अविलम्ब पारित गर्ने वातावरण बनाउनुपर्ने पनि धारणा राखेका छन् । त्यस्तै, उनले एमसीसी पारित भए नेपालमा अमेरिकी सेना आउँछ भन्नु पनि हाँस्यस्पद भएको टिप्पणी गरेका छन्। उनले भनेका छन्,‘अमेरिकासँगको हाम्रो द्धिपक्षीय सम्बन्धमा खलल पार्ने अभिव्यक्ति कसैले पनि नदिऔं । एमसीसीमा भएका प्रावधानहरु सबैले एकपटक पढौं । यसमा नेपालको अहित हुने कुरा मैले चाहीँ पाईनँ ।’ File Photo/RN