काठमाडौं, बैशाख १९ । काठमाडौं क्षेत्र नम्बर १ (क ) का बाग्मती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठ सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन सक्रिय भएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा भूमाफियाले अतिक्रमण गरेका सार्वजनिक जग्गा डोजर लगाएर खाली गराउन उनले सक्रियता बढाएका छन् । सांसद श्रेष्ठको अगुवाइमा व्यापारी दिपक मल्होत्रले हडपेको २ रोपनी १४ आना सरकारी जग्गामा डोजर लगाएर खाली गराइएको ।
काठमाडौं महानगरपालिका ११ वडा कार्यालयले पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि प्रदेश सभा सदस्य श्रेष्ठको अग्रसरतामा ओलम्पिया स्कुलले सरकारी जग्गा कब्जा गरेर बनाएको संरचना हटाइएको छ । वडा कार्यालयसँगको समन्वयमा उनले पूर्वउपसचिव सुरज डोटेलले हडपेको १ रोपनी ८ आना सरकारी जग्गामा पनि डोजर लगाएर टहरा भत्काएका छन् ।
अहिले त्यहाँ ११ नम्बर वडा कार्यालयले जेष्ठ नागरिकलाई लक्षित गरेर सार्वजनिक पार्क निर्माण गर्ने योजना अघि सारेको छ । वडाध्यक्ष हिरालाल तण्डुकारले भूमाफियाको कब्जाबाट फिर्ता ल्याएको उक्त जग्गामा जेष्ठ नागरिकलाई उपयोगी हुनेगरी सुविधासम्पन्न पार्क बनाउन बजेट समेत छुट्याइएको बताए । त्यस्तै अनामनगरस्थित अक्सिडेन्टल पब्लिक स्कुल ( ओपिएस) ले हडपेको एक रोपनी भन्दा बढी सरकारी जग्गामा पनि डोजर लगाएर अतिक्रमण हटाइने प्रदेश सभा सदस्य श्रेष्ठको भनाई छ ।
काठमाडौं महानगरपालिकाले अक्सिडेन्टल स्कुललाई पर्खाल हटाउन आदेश दिए पनि स्कुलले भत्काउन अटेरी गरेपछि अतिक्रमण हटाउन उनले पहल थालेका छन् । त्यस्तै वडा नम्बर १० देवीनगरलगायतका क्षेत्रमा सरकारी जग्गा हडपेर बनाएका घर तथा टहरा हटाउने योजना रहेको प्रदेश सभा सदस्य श्रेष्ठले बताए । अधिकार प्राप्त राज्यका निकायहरूसँगको समन्वयमा त्यस्ता अतिक्रमण हटाइने उनको प्रष्टोक्ति छ । आफ्नो क्षेत्रमा रहेका सार्वजनिक र सरकारी जग्गामा भएको अतिक्रमण हटाउने अभियान सञ्चालन गरिएको प्रदेशसभा सदस्य श्रेष्ठले जनाए ।