काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले विहान राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरललाई अपरान्ह मुख्यमन्त्री नियुक्त गरे । उनले संविधानको धारा १६८ उपधारा १ बमोजिम पोखरेललाई नियुक्त गरेका हुन् ।
उक्त धाराको उपधारा अनुसार एकल बहुमतप्राप्त दलका संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । तर, मुख्यमन्त्री पोखरेल अल्पमतमा परिसकेका छन् । एमालेकी सांसद विमला वली माओवादी केन्द्र प्रवेश गरेकी छिन् । थप ३ जना एमालेका सांसदले राजीनामा दिएका छन् ।
अल्पमतमा रहेको एमाले संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै विरोधमा लुम्बिनी प्रदेशका सांसदहरु मुख्यमन्त्री यादवको कार्यकक्षमा पुगेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चा नेपालका अलावा सुर्य चिन्ह लिएर चुनाव जितेका २ सांसद हस्ताक्षरसहित ४२ जना सशरीर प्रदेश प्रमुखको कार्यकक्षमा पुगे ।
प्रदेश प्रमुखलाई मुख्यमन्त्रीमा पोखरेललाई गरिएको नियुक्ति बदर गर्न आग्रह गरे । उनीहरुलाई सम्झाउँदै प्रदेश प्रमुख यादवले आफूलाई सपथ रोक्न नरोक्नेबारे सोच्न समय दिन आग्रह गरे ।
प्रदेश प्रमुखको कार्यालयमा चर्काचर्की भएपछि सांसदहरुले आधा घन्टा सोच्ने समय दिने बताए । उनीहरुले प्रदेशको सपथ हलमा पर्खने बताएर रोक्ने प्रयास गरे ।