काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शंकर पोखरेलको सपथको तयारी भएको छ । उनले साँझ सपथ लिने तयारी भएको हो ।
सपथ रोक्न लुम्बिनी प्रदेशका बहुमत ४२ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएर बसेका छन् । उनीहरुले एमालेको एकल बहुमत नरहेको जिकिर गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवलाई सपथ रोक्न अल्टिमेटम दिएका थिए । यादवले सोच्न समय दिन भनेपछि उनीहरु प्रदेश प्रमुख कार्यालयको गेटमा बसेका छन् ।
मुख्यमन्त्री पोखरेलको सपथ रोक्न धर्नामा रहेका ४२ सांसदले अवरोध गर्नसक्ने सम्भावनालाई दृष्टिगत गरी सुरक्षाकर्मीको संख्या बढाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रदेश प्रमुख डिआइजीहरु लुम्बिनी प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।
यसैगरी, माओवादी केन्द्रका कुलप्रसाद केसीले आफूलाई मुख्यमन्त्री घोषित गरेका छन् । आफूलाई बहुमत ४२ सांसदको समर्थनसहित सशरीर हस्ताक्षर लिएर पुगेकाले नियुक्त गर्नुपर्ने दाबी गरेका उनले उक्त घोषणा गरेका छन् ।