Logo

पदाधिकारी यथावत् राखौं थपिएका २६५ मान्छौं भन्दा पनि ओली नमानेपछि…



काठमाडौं, २० वेशाख । नेकपा एमाले विभाजन रोक्न दोस्रो पुस्ताका प्रभावशाली नेताहरु जति सक्रिय भएपनि कुरा मिल्न सकेन । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल दुवै पक्षका नेताहरु अहोरात्र दौडिएर सहमति निकाल्न खोजे ।

ओलीको पेलाईमा परेको नेपाल पक्षले सहमतिको बटमलाइन राख्यो । विश्वस्त स्रोतका अनुसार ओलीले २६५ जना थपेर महाधिवेशन आयोजक कमिटी गठन गरेको मान्ने तर नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई मान्नुपर्ने शर्त थियो । बरु रामबहादुर थापा बादललाई विद्या भण्डारी राष्ट्रपति भएपछि रिक्त उपाध्यक्षमा नियुक्त गर्ने प्रस्ताव समेत नेपाल पक्षबाट पुग्यो ।

यो बटमलाइनलाई पनि ओलीले अस्वीकार गरे । त्यसपछि दोस्रो पुस्ताका नेताहरु हरेस खाए । अब माधव नेपाल समूह गर या मरको अवस्थामा पुगेको छ । नेपालले पनि सार्वजनिक रुपमै कि गर कि मरको अवस्थामा पुगेको बताइसकेका छन् ।

एमालेको दोस्रो पुस्ताका ओली समूहका विष्णु पौडेल र नेपाल समूहका घनश्याम भुसाल, योगेश भट्टराईलगायतले सहमति निकाल्न धेरै मिहेनत गरेका थिए । तर, मिहेनतले एमाले एकताका लागि ठोस नतिजा निकाल्न सकेन ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णयका लागि संसदको अधिवेशन आव्हान गर्न लगाइसकेका छन् । मन्त्रिपरिषदबाट सिफारिश भएको अधिवेशन २७ वैशाखका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आव्हान गरिसकेकी छिन् । तर, नेपाल पक्ष ओलीको कदम अगावै कुनै नयाँ कदम चाल्ने पक्षमा देखिएको छ ।

कुनैपनि हालतमा ओलीको योजनालाई सफल हुन नदिन नेपाल समूहले काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहसँग छलफल बढाइसकेको छ ।-फाइल तस्बिर 



प्रतिक्रिया दिनुहोस्

Screenshot