काठमाडौं, २० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको एउटा पक्ष र जनमोर्चा नेपालले निरन्तर प्रयास गरिरहेका छन् । तर, ओलीले एकपछि अर्को कदम चालेर विरोधीलाई आच्छु आच्छु पारिरहेका छन् ।
ओली १२ कदम बढ्दा उनका विरोधी मात्र एक कदम बढेको देखिन्छ । उनले संविधानलाई टेकेर निरन्तर चालेको कदमले विरोधीलाई समस्यामा पारिरहेको छ ।
ओलीलाई जतिसुकै प्रयास गर्दा पनि उनी प्रधानमन्त्रीबाट हट्ने सम्भावनाका लागि कि त राजीनामा कि त विश्वासको प्रस्ताव पारित नभएको अवस्थामा सम्भव छ ।
संविधानको धारा ७७ बमोजिम प्रधानमन्त्रीको पद रिक्त हुन राष्ट्रपति समक्ष लिखित राजीनामा, धारा १०० बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा वा अविश्वासको प्रस्ताव पारित भएमा, प्रतिनिधि सभा सदस्य नरहेमा वा मृत्यु भएमा गरी ४ वटा व्यवस्था छन् ।
धारा १०० मा विश्वासको मत र अविश्वासको प्रस्ताव सम्बन्धी व्यवस्था छ । जसमा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्नेछ ।