Logo

असावधानीले दुर्गम गाउँमा कोरोना सङ्क्रमण



पाँचथर, २१ वैशाख: जिल्लाको सदरमुकाम फिदिमबाट करिब ७० किलोमिटर उत्तरपूर्वमा रहेको याङवरक गाउँपालिका–१ च्याङथापूमा सोमबार आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भयो । यो सुदूर गाउँमा एक वृद्धको चौरासीको पूजामा झापामा रहेका आफन्तलाई निम्ता गरिएको थियो । निम्ता मान्न आएका आफन्तसँगको सम्पर्कले उक्त गाउँमा सङ्क्रमण फैलिएको पाइएको हो । वैशाख ११ गते यहाँका एक वृद्धको चौरासीको पूजाका लागि झापाबाट वृद्धका दुई आफन्त साविक च्याङथापू गाविस–१ नाम्रेक आएका थिए ।

याङवरक गाउँपालिका–१ का वडाध्यक्ष मोहनकुमार ढुङ्गेलका अनुसार चौरासीको पूजा सबैले खुशीसाथ मनाए । भोलिपल्टबाट आ–आफ्नो बाटो लाग्न थाले । त्यहाँ पूजाको आयोजना गरेका स्थानीयवासी र झापा फर्किसकेका आफन्त सबैमा कोभिड–१९ सँग मिल्ने लक्षण देखिएपछि परीक्षण गराइयो । “उनीहरु तल (झापा) झरेर परीक्षण गराउँदा कोभिड–१९ को रिपोर्ट पोजेटिभ देखियो”, वडाध्यक्ष ढुङ्गेलले भने, “पाहुना आएकाहरुमा सङ्क्रमण देखिएपछि यहाँका आफन्तलाई बाहिरफेर ननिस्कन भनेका थियौँ । हिजो एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भयो ।”

यहाँका सङ्क्रमितलाई ज्वरो आइरहेको र होमआइसोलेशनमा बस्न भनिएको वडाध्यक्ष ढुङ्गेलले बताए । “गाउँपालिका अध्यक्षसँग परामर्श गरेर कसरी राख्ने भन्ने निक्र्यौल गर्छौँ”, उनले भने । चौरासीको पूजा लगाएका ८४ वर्षीय वृद्धलाई स्वास्थ्य समस्या बढी भएको पाइएको वडाध्यक्ष ढुङ्गेलले बताए । “पूजा लगाउने व्यक्तिले श्वास फेर्न समस्या भएको बताएकाले अस्पताल लैजाने तयारी गरेका छौँ”, ढुङ्गेलले भने ।

यता सदरमुकाम फिदिममा सोमबार १५ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा कोभिड–१९ सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । आइतबार फिदिममै एक कर्मचारी र एक सैनिकमा सङ्क्रमण भेटिएको थियो । आज बिहानसम्म जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या ११ पुगेको सुवेदीको भनाइ छ । जिल्लाका अरु पनि सङ्क्रमित भए पनि बाहिर, निजी प्रयोगशालामा परीक्षण गराएकाहरुको रेकर्ड स्वास्थ्य कार्यालयसँग नहुने सुवेदीले बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्