Logo

सुदूरपश्चिममा कोरोनाः युवा संक्रमित बढी



कैलाली, बैशाख २२ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस भित्रिएसँगै सुदूरपश्चिममा संक्रमणको दर बढ्दो छ। त्यसमा पनि युवाहरुमा संक्रमण दर उच्च रहेको तथ्यांक सार्वजनिक भएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको एक तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा २० देखि २९ वर्ष उमेर समूहका युवाहरु सबैभन्दा बढी संक्रमित भएका छन्।

सुदूरपश्चिम प्रदेशमा उमेर समूहका आधारमा गरिएको पिसिआर परीक्षणमा युवाहरुमा कोरोना संक्रमण बढी देखिएको हो। पिसिआर विधिद्वारा गरिएको परीक्षणमा २० देखि २९ वर्ष उमेर समूहका ५ हजार ९ सय ११ जनामा संक्रमण देखिएको छ। जसमध्ये एक हजार ६ सय ५९ युवती र ४ हजार २ सय ५२ युवक रहेका छन्। यस्तै ३० वर्षदेखि ३९ वर्ष उमेर समूहका ४ हजार ३ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको छ। जसमध्ये १ हजार ८ जना महिला र ३ हजार ३ सय १० जना पुरुष रहेका छन्। ४० देखि ४९ वर्ष उमेर समूहका २ हजार १ सय ४८ जना संक्रमित भएका छन्। यी मध्ये ५ सय २१ जना महिला र १ हजार ६ सय ३६ जना पुरुष रहेका छन्।

क्रमागत अनुसार ४० देखि ४९ वर्ष उमेर समूहपछि किशोरहरु बढी छन्। १० देखि १९ वर्ष उमेर समूहका किशोर १ हजार ५९२ जना संक्रमित भएका छन्। यी मध्ये ४ सय ८५ जना किशोरी र १ हजार १०७ जना किशोर रहेका छन्। किशोरपछि ५० देखि ५९ वर्ष उमेर समूहका १ हजार १ सय १२ जना संक्रमित भएका छन्। जसमध्ये २ सय ७५ जना महिला र ८ सय ३७ जना पुरुष छन्। बालबालिका पनि कोरोनाको संक्रमणबाट अछुतो रहन सकेनन्। जन्मेदेखि ९ वर्ष उमेर समूहका बालबालिका मध्ये ८ सय ३४ जना संक्रमित भएका छन्। संक्रमित बालबालिका मध्ये ३ सय ४१ जना बालिका र ४ सय ९३ जना बालक रहेका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालयको उमेरगत समूहका आधारमा गरिएको वर्गीकरणअनुसार सबैभन्दा कम ९० देखि ९९ वर्ष उमेर समूहका १० जनामा कोरोना संक्रमण देखिएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot