Logo

सर्वोच्चद्वारा अनलाइनमार्फत मुद्दाको सुनुवाइ प्रक्रिया थालनी



काठमाडौं, बैशाख २३ । सर्वोच्च अदालतले मुद्दाको संख्या बढ्दै गएपछि अनलाइनमार्फत पनि सुनुवाइ गर्ने प्रक्रिया अगाडि बढाएको छ । सर्वोच्चका सहरजिस्ट्रार बाबुराम दाहालले हाल सो प्रक्रियाका लागि प्रारम्भिक कार्य अगाडि बढाइएको जानकारी दिएका छन् ।

मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि न्यायपालिकाको सुनुवाइ प्रक्रिया अवरुद्धजस्तै रहेको छ । हालको अवस्थामा मुद्दा दर्ता मात्रै हुने तर सुनुवाइको संख्या कम हुने गरेका कारण सर्वोच्चले अनलाइनमार्फत पनि मुद्दाको प्रक्रिया अगाडि बढाउन लागेको हो ।सर्वोच्चमा हाल झन्डै २८ हजारको संख्यामा मुद्दाहरू विचाराधीन रहेको बताइएको छ ।

सामान्य अवस्थामा मुद्दाको फछ्र्यौटभन्दा दर्ता हुने संख्या बढी हुने भएकाले विचाराधीन अवस्थामा रहेका मुद्दाको संख्या बढ्दै गएको हो ।अनलाइनबाट मुद्दाको सुनुवाइ के–कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा सर्वोच्चले तीन सदस्यीय एक समितिसमेत गठन गरेको छ । सहरजिस्ट्रार दाहाल र हरिराज भट्टराईसमेत रहेको उक्त समितिले अनलाइनमार्फत सुनुवाइ प्रक्रिया अगाडि बढाउने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ ।

सहरजिस्ट्रार दाहालले अनलाइनबाट सुनुवाइ प्रक्रिया अगाडि बढाउन अपनाउनुपर्ने सबै विधिका बारेमा अध्ययन गरी प्रतिवेदन दिएपछि अनलाइन सुनुवाइ प्रक्रिया अगाडि बढ्ने बताए। उनले एक महिनाभित्र सो प्रक्रियाको शुरुआत हुन सक्ने आँकलन गरे ।हालको अवस्थामा कम्तीमा दुईवटा इजलासबाट अनलाइनमार्फत सुनुवाइ गर्न सकिन्छ कि भन्ने प्रारम्भिक सोचाइ रहेको दाहालले बताए ।भारतको न्यायालयले सन् २०१९ को नोभेम्बरदेखि २०२० को नोभेम्बरसम्म ४९ लाख थान मुद्दाको सुनुवाइ अनलाइनमार्फत गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोभिड–१९ को संक्रमण शुरु भएपछि मुद्दाको सुनुवाइ अनलाइनमार्फत पनि गर्न थालिएको थियो ।

सर्वोच्चले अनलाइनमार्फत मुद्दाको सुनुवाइ गर्न लागेकोमा कानुन व्यवसायीले खुसी व्यक्त गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot