Logo

सङ्क्रमितको घरघरमै स्वास्थ्य सामग्री



बगनासकाली, २३ वैशाख – पाल्पाको बगनासकाली गाउँपालिकाले कोरोना सङ्क्रमितका घरघरमा स्वास्थ्य सामग्री वितरण शुरु गरेको छ । यही वैशाख १३ गते गाउँ कार्यपालिकाको निर्णयअनुसार सङ्क्रमितको घरमै पुगी स्वास्थ्य सामग्री वितरण शुरु गरिएको हो । वैशाख १७ गतेदेखि कोरोना सङ्क्रमित भई घरमै आइसोलेशनमा बसेका सङ्क्रमितका लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

बगनासकाली स्वास्थ्य शाखाका प्रमुख मणिराम अधिकारीका अनुसार गाउँपालिकाले कोरोना सङ्क्रमितलाई शक्तिवद्र्धक औषधि, भिटामिन बी, भिटामिन सी, जिङ्क चक्की, च्यवनप्रास, सिटामोल, आवश्यकतानुसार एन्टिबायोटिक औषधि वितरण गरेको छ । त्यसैगरी ज्वरो नाप्ने डिजिटल थर्मोमिटर, अक्सिजन र पल्स चेक गर्न पल्सअक्सिमिटर, मास्क र स्यानिटाइजरलगायतका सामग्री वितरण गरिएको छ ।

गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारीका अनुसार कोरोना सङ्क्रमित भई घरमै आइसोलेशनमा बसेकाको स्वास्थ्योपचारका लागि गाउँपालिकाले घरमै सेवा दिन थालेको छ । घरमै बसेकाहरुले ज्वरोदेखि, अक्सिजनसमेत घरमै मापन गर्न सकुन् र शक्तिवद्र्धक औषधि खाएर निको गराउने उद्देश्यले घरमै सेवा दिएको अधिकारीको भनाइ छ । यो अभियान निरन्तर राख्नेसमेत उनको भनाइ छ ।

गाउँपालिकाको कार्यपालिका बैठकले कोरोना सङ्क्रमितको उपचार सहज र सर्वसुलभ बनाउन घरमै स्वास्थ्य उपचार गराउने निर्णय गरेको थियो । बुधबारसम्म बगनासकालीमा ३८ सङ्क्रमित रहेको र नौ सङ्क्रमितको घरमै पुगी स्वास्थ्य सामग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिए । उनका अनुसार पालिकाले सङ्क्रमितको अवस्थानुसार आवश्यक उपचारको प्रबन्ध मिलाइएको बताए ।-रासस



प्रतिक्रिया दिनुहोस्