Logo

दमौली अस्पतालका जनरल वार्ड कोभिड कक्षमा रुपान्तरण



दमौली, २४ वैशाख: तनहुँको सदरमुकाममा रहेको दमौली अस्पतालले जनरल वार्डलाई कोभिड कक्ष बनाएको छ । कोरोना जोखिम बढेर सङ्क्रमित बढ्न थालेपछि अस्पतालले जनरल वार्डलाई कोभिड कक्ष बनाएको हो ।

उक्त ठाउँमा १६ श्ययाको व्यवस्थापन भइसकेको र त्यसलाई ३० श्यया बनाउने तयारी थालिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । जनरल वार्डलाई भने इमर्जेन्सी सञ्चालित भवनको तीन कोठामा स्थानान्तरण गरिएको छ । त्यहाँ सात-आठ श्यया तयारी गरिएको छ । “इमर्जेन्सी कक्ष नजीक स्वास्थ्यकर्मी सुत्ने र एआरटी कक्षलाई जनरल वार्ड बनाइएको छ”, अधिकारीले भने ।

कोभिड जोखिमका कारण अस्पतालले केही समयका लागि प्रसूतिको शल्यक्रिया गर्ने कार्य भने स्थगितको तयारी गरेको छ । “कोभिड सङ्क्रमण हुने जोखिम भएकाले केही समयका लागि प्रसूतिको काम मात्रै स्थगित गर्ने सोचमा छौं, अन्य सबै काम भने सुचारु नै हुन्छ”, अधिकारीले भने । अस्पतालले सुत्केरी वार्डलाई प्रशासन शाखामा र प्रशासन शाखालाई जिल्ला स्वास्थ्य कार्यालयको भवनमा स्थानान्तरण गरेको छ ।

अस्पतालले सात आइसियु र चार भेन्टिलेटरसहितको श्यया यसअघि नै तयार गरिसकेको छ । अस्पतालले स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोगमा आइसियु र भेन्टिलेटर श्ययाको व्यवस्थापन गरेको हो । आइसियु र भेन्टिलेटरको व्यवस्था भएपछि अब कोभिडका गम्भीर प्रकृतिका बिरामीलाई पनि बाहिर पठाउनुनपर्ने अधिकारीले जानकारी दिए ।

अस्पताल परिसरमा अक्सिजन प्लान्ट निर्माण प्रक्रिया पनि शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारले अक्सिजन प्लान्ट निर्माणका लागि चालु आर्थिक वर्षमा रु ७५ लाख बजेट उपलब्ध गराएको छ । उक्त प्लान्ट निर्माणका लागि टेन्डर प्रक्रिया पूरा भई सम्झौता भइसकेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्