Logo

माधव नेपालको हातमा एमाले र ओली सरकारको भविष्य, के कदम चाल्लान् ?



काठमाडौं, २४ वैशाख । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल देशको राजनीतिको निर्णायक शक्ति बनेका छन् । उनले चाल्ने कदमले नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्य निर्धारण गर्नेछ ।

ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरिलो चुनौती दिन नसकिरहँदा नेपालले ठूलै चुनौती दिइरहेका छन् । नेपालकै निर्देशनमा कर्णाली प्रदेशमा एमाले सांसदहरुबाट फ्लोर क्रस भइसकेको छ । लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा पर्नुमा नेपालकै रणनीतिक चार्तुयता कारण बनेको छ ।

संघीय संसदमा ओलीलाई अप्ठ्यारोमा पार्न सक्नेमा माधव नेपाल नै मुख्य नेता देखिएका छन् । उनले एमालेभित्रै ओलीलाई कमजोर पार्न २१ सांसदको सामूहिक राजीनामासम्मको तयारी गरेका छन् । यसले आक्रामक बन्दै आएका ओलीलाई अचानक रक्षात्मक बनाइदिएको छ । माधव नेपाल र उनी पक्षीय प्रत्यक्ष निर्वाचित सांसदहरुमाथि कारबाहीका लागि ठिक्क परेका उनी पछि हटेका छन् । यसअघि कठोर कदम चाल्न अघि सरिहाल्ने ओली अचानक हटेका छन् ।

माधव नेपालले कुनैपनि बेला आफू पक्षीय प्रत्यक्ष निर्वाचित सांसदहरुको सामूहिक राजीनामाको निर्णय लिने बलियो सम्भावना देखिएको छ । सहमतिका लागि उनले बटमलाइन २ जेठ २०७५ नै रहेको स्पष्ट पारिसकेका छन् । त्यसमा यताउता नहुने उनको अडान छ ।

कुनैपनि बेला नेपालले चाल्ने कदमले एमाले वैधानिक रुपमा विभाजित हुन सक्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले एकताको पहल गरिरहेकी छिन् । तर, ओली र नेपाल टसमस भएका छैनन् । अन्तिम प्रयास जारी छ ।

२७ वैशाखमा ओलीले विश्वासको मत लिन बढ्नु अघि नै कुनै सहमति नभए नेपालले सामूहिक राजीनामाको कदम चाल्ने सम्भावना बलियो छ । उनी जसरी हुन्छ ओलीलाई प्रधानमन्त्रीमा कायमै रहेको हेर्न चाहिरहेका छैनन् । यसकारण पनि ओली सरकारको भविष्य नेपालको हातमा पुगेको छ । नेपाल समूहका २१ जना सांसदले सामूहिक राजीनामा दिनेवित्तिकै दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बन्ने ढोका सहज हुनसक्छ । त्यतिबेला काँग्रेस, माओवादी केन्द्र र जसपाको समिकरण बनेर सरकार बन्नसक्छ । संसदमा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका रुपमा संविधानको धारा ७६ ३ बमोजिम प्रधानमन्त्री बनेर देशलाई ६ महिनाभित्र चुनावमा लाने ओलीको रणनीति नेपालले विफल पार्न चाहिरहेका छन् ।

ओली र नेपालबीचको अन्र्तसंघर्षले वर्तमान सरकार मात्र नभई नेकपा एमालेको भविष्य समेतको टुंगो लगाउँदैछ । नेपालले चाल्ने कदमले नै अबको एमाले र ओली सरकारको भविष्य निर्धारण गर्दैछ । यतिबेला नेपालको राजनीतिमा माधव नेपाल निर्णायक शक्ति बनेका छन् । उनले जे कदम चाल्छन् त्यो अबको राजनीतिलाई नयाँ दिशा दिने कारण बन्नेछ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्