काठमाडौं, २५ वैशाख । कोरोना भाइरसको महामारीको दोस्रो लहरले भारत र नेपाललाई सबैभन्दा मारमा पारेको भन्दै विश्वभर चासो बढेको छ । नेपालसमेत भारतका छिमेकी देशहरुको अर्थतन्त्र कोरोना महामारीपूर्वकै अवस्थामा ल्याउन २० वर्ष लाग्नसक्ने चिनियाँ अध्ययनकर्ताहरुको भनाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ ।
चिनियाँ अध्ययनकर्ताको निष्कर्ष भन्दै ग्लोबल टाइम्सले १० देखि २० वर्ष पुरानै अवस्थामा अर्थतन्त्र फर्काउन समय लाग्ने भनेको छ । भारतको छिमेकी देशहरुको अर्थतन्त्र र स्वास्थ्य प्रणाली पहिल्यै नै कमजोर रहेको र नयाँ कोभिड १९ को डरलाग्दो लहरले कठोर प्रहार गरेको भनिएको छ ।
भारतले ६ महिनाभित्र महामारीलाई नियन्त्रणमा लिन नसक्ने चिनियाँ अध्ययनकर्ताको निष्कर्ष छ । नेपालको भारतसँग खुल्ला सीमा रहेको भन्दै ग्लोबल टाइम्सले भारतको भन्दा भयावह अवस्थाको सामना गर्न थालेको उल्लेख गरेको छ ।
नेपाल ओभरसिज चाइनिज एशोशिएसनका उपाध्यक्ष चेन जिआओसुआङको भनाई उदृत गर्दै ग्लोबल टाइम्सले व्यक्तिगत खुल्ला आवतजावतका कारण नेपालले भारतबाट भाइरसको संक्रमण फैलनबाट रोक्न नसक्ने लेखेको छ । आवतजावत गर्न भीसा नचाहिने भन्दै उल्लेख्य संख्यामा भारतीयहरु अप्रिलको अन्तिमयता काठमाडौं आउने गरेको चेनले बताएका छन् । लकडाउनको समयमा पनि भारतीय नागरिक नेपाल पसिरहेको ग्लोबल टाइम्सले लेखेको छ । अन्तर्राष्ट्रिय उडान सबै स्थगित गरेपनि दिल्लीसँग हप्ताको दुईपटक उडान सञ्चालन गरिरहेको समेत उल्लेख गरेको छ ।
चेनको भनाई अनुसार नेपालले २०२१ को कोरोना भाइरसको लहरले २०२० को भन्दा पनि घातक प्रहार गर्नेछ । गत वर्षको लकडाउन र महामारीले थलिएको पर्यटन क्षेत्रमा ठूलो मार पर्नेछ ।
कोरोना भाइरसको महामारीको नयाँ लहरसँग जुध्न गरिएको निषेधाज्ञाले भारतका छिमेकी देशहरुका कलकारखानाहरु निकै प्रभावित हुने र अर्थतन्त्रमा नकारात्मक असर पर्ने सांघाई एकेडेमी अफ सोसल साइन्सेसका शोधकर्ता हु जियोङले बताएको ग्लोबल टाइम्सले लेखेको छ । अर्थतन्त्र पुरानै अवस्थामा फर्काउन भारतसँग निर्भर रहनुपर्ने छिमेकीहरुले भारतको संकटबाट अर्थतन्त्र रसातलमा पुग्ने अवस्था भोग्नुपर्ने निष्कर्ष हुको छ । दक्षिण एशियाली देशहरुले अबको दुई हप्ताभित्र महामारीको लहरलाई नियन्त्रणमा लिन नसके अर्थतन्त्र पुरानै अवस्थामा फर्काउन २० वर्ष लाग्ने हुले औल्याएका छन् ।
वुआन विश्वविद्यालयका प्याथोजेन वायोलोजीका उपनिर्देशक याङ जाङकीको भनाई उदृत गर्दै ग्लोबल टाइम्सले भारतसँग सीमा जोडिएका छिमेकीहरुले भाइरस फैलनबाट रोक्न पूरै सीमा बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।
चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनविनले शुक्रबार मिडिया ब्रिफिङमा नेपाललाई स्वास्थ्य सामाग्रीहरु सहयोग दिने तयारी गरेको बताएका छन् ।
एकातर्फ चीनको विदेश मन्त्रालयको सन्देशवाहक ग्लोबल टाइम्सले भारतको कोरोना महामारीको संकटले छिमेकी देशहरुको अर्थतन्त्र रसातलमा पुग्ने निष्कर्ष निकालेको छ । अर्कोतर्फ, भारतसँग आर्थिक रुपमा निर्भर भएका देशहरुको अर्थतन्त्र कोरोना महामारीपूर्वको अवस्थामा फर्कन २० वर्ष लाग्नसक्ने खतरा औल्याउँदै चीनले सहयोग बढाउनुपर्ने उल्लेख गरेको छ ।