Logo

माधव नेपाल पक्षधर २० सांसदले राजीनामा दिनेगरि हस्ताक्षर गरे, एमालेको एकता टर्यो



काठमाडौं, २५ बैशाख । नेकपा (एमाले) को एकता प्रयास असफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएपछि एमालेमा एकताको प्रयास थालिएको थियो । तर, अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्ष र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै पक्ष आफ्नो अडानबाट टसमस नभएपछि एकता टरेको हो ।

माधव पक्षले एकताको लागि २०७५ जेठ २ गते फर्किनुपर्ने बटमलाईन बनाएको थियो । तर, अध्यक्ष ओलीले अब कुनैपनि हालतमा पछि फर्कन नसकिने अडान लिएपछि माधव नेपाल पक्षका २० जना सांसदले राजीनामा दिने भएका हुन् । विश्वस्त सूत्रका अनुसार माधव नेपालस, भीम रावल, घनश्याम भुषालसहित २० जना सांसदले राजीनामा दिनेगरि पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

उनीहरु आज अवरेसम्म पनि एकताको लागि प्रयासरत थिए । तर, अब कुनैपनि हालतमा एकताको मिलनविन्दु पहिल्याउन नसकिने भएपछि प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्नको लागि पनि सामूहिक राजीनामा दिने निश्कर्षमा आफूहरु पुगेको माधव नेपाल पक्षधर एक सांसदले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । एमालेको १२१ सांसद संख्या हो ।

माधव नेपाल पक्षधर २० जना सांसदले राजीनामा दिँदा एमालेसँग अब १०१ मात्रै संख्या रहने भयो । कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले विश्वासको प्रस्ताव फेल गर्ने निर्णय गरिसकेका छन् । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत पाउने सम्भावना अब सकिएको एमाले ओली पक्षधर नेताहरुको दाबी छ । आजमात्रै, नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको थियो ।

आजको बैठकमा सभापति शेरबहादुर देउवा प्रधानमन्त्री ओलीलाई जसरी पनि हटाउनुपर्ने पक्षमा उभिएका थिए । उनले अहिले उपयुक्त बेला आएको भन्दै त्यसको लागि आफूले प्रयत्न गरेको ब्रिफिङ गरेका थिए । यो बीचमा सभापति देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका नेता माधव कुमार नेपाललाई पटक पटक भेटेका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्