Logo

कोरोना महामारी नियन्त्रणबाहिर गएको छैनः प्रम



काठमाडौं, बैशाख २६ । मुलुक दोस्रो चरणको कोरोनाले आक्रान्त भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने स्थिति नियन्त्रणबाहिर नगएको दाबी गरेका छन् ।अमेरिकी टेलिभिजन न्यूज च्यानल सीएनएनलाई शनिवार बिहान दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कोरोना भाइरसको महमारी नियन्त्रणमा रहेको दाबी गरेका हुन् ।

उनको यो भनाइ आलोचित बनेको छ । मुलुकमा कोरोनाले भयावह अवस्था निम्त्याइरहेको बेला प्रधानमन्त्रीले अन्तरराष्ट्रिय मिडियामा दिएको अन्तर्वार्तामा नियन्त्रणमा रहेका अभिव्यक्ति दिँदा शनिवार दिनभर सामाजिक सञ्जालमा आलोचना भयो । आलोचकहरूले वास्तविक स्थितिबारे जानकारी दिएर अन्तरराष्ट्रिय सहयोगको आह्वान गर्ने राम्रो अवसरलाई प्रधानमन्त्री ओलीले गुमाएको बताएका छन्।

प्रधानमन्त्रीले अन्तर्वार्ताका क्रममा पहिलो चरणको कोरोना नियन्त्रणमा आइसकेको बताउँदै सर्वसाधारणको लापरबाहीका कारण पुनः तीव्र गतिमा कोरोना पैmलिएर दोस्रो चरण आएको आरोप लगाए।

पहिलो लहरको संक्रमण लगभग नियन्त्रणमा आएपछि सर्वसाधारणले सावधानी नअपनाउँदा दोस्रो लहर आएको उनको दाबी थियो । ‘गएको वर्ष हामीले संक्रमण नियन्त्रणमा लिएका थियौं । मृत्युदर शून्यमा आएको थियो । संक्रमण पनि दैनिक ५० को हाराहारीमा झरेको थियो । तर, मानिसहरूले महामारी सकिएको ठाने, लापरबाही गरे । त्यसकारण महामारीको दोस्रो लहर आयो । हामीले अहिलेको अवस्था नियन्त्रणका लागि हाम्रो सम्पूर्ण संयन्त्र परिचालन गरेका छौं,’ उनले अन्तर्वार्ताको क्रममा भने।

अहिले आफूहरू नागरिकलाई सचेत बनाउँदै संक्रमणबाट जोगाउन लागि परेको प्रधानमन्त्री ओलीले दाबी गरेका छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्