काठमाडौं, बैशाख २६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारलाई जसरी भए पनि विस्थापन गर्नुपर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिन वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएपछि आफ्नो रणनीति तय गर्न शनिबार संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो।
वर्तमान सरकारको विकल्प खोज्ने केन्द्रीय समितिको चैत २१ गतेको निर्णयलाई संसदीय दलले अनुमोदन गरेको छ। प्रधानमन्त्री ओलीले लिन लागेको विश्वासको मतको विपक्षमा उभिने निर्णय गर्दै कांग्रेसले संसद्मा रहेका अन्य दललाई पनि विपक्षमा उभिन आग्रह गरेको छ। ओलीको विकल्पमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको कांग्रेसले सदनमा अविश्वासको प्रस्ताव भने नराख्ने भएको छ।
प्रधानमन्त्री आफैंले विश्वासको मत लिने निर्णय गरेको र उनको पक्षमा बहुमत पुग्ने अवस्था नरहेको कांग्रेसको बुझाइ छ। प्रधानमन्त्रीको पक्षमा बहुमत नजुटेपछि संविधानको धारा ७६ ९२० अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने कांग्रेस बुझाइ छ। ‘प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने कांग्रेसले निर्णय गरेको छ,’ कांग्रेस प्रमुख सचेत बालकृष्ण खाँणले भने,‘ ओलीमाथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्नका लागि संसद्का सबै राजनीतिक दललाई आग्रह गर्ने निर्णय भएको छ।’
कांग्रेस नेतृत्वमा वैकल्पिक सरकार गठनका लागि पहल गर्ने केन्द्रीय समितिको निर्णयलाई पनि संसदीय दलको बैठकले अनुमोदन गरेको नेता खाँणले जानकारी दिए। ओली नेतृत्वको सरकारले चालेका असंवैधानिक कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि साथ दिएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ। कांग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीका गलत कदमका पछाडि राष्ट्रपति भण्डारीको सहयोग रहेको आरोप लगाए।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देउवाले लोकतान्त्रिक मूल्य, मान्यताविपरीत सरकारले काम गरेकाले यसको विकल्प खोज्नुपर्नेमा जोड दिए। नागरिक दैनिकबाट