काठमाडौं, बैशाख २६ । निषेधाज्ञाका बेला आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर नागढुंगा–सिस्नेखोला सुरुङ निर्माणको काम जारी राखिएको छ । अहिले निर्माणस्थलमा ६५० जना कामदार छन् ।
नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाअन्तर्गत काठमाडौंतिर आइसोलेसनसहितको निर्माणस्थल । तस्बिर सौजन्य स् आयोजना
१२र१२ घण्टाको दुई सिफ्ट गरेर सुरुङ खन्ने काम अघि बढाइएको नागढुंगा–सिस्नेखोला सुरुङ आयोजनाका निर्देशक नरेशमान शाक्यले जानकारी दिए । क्याम्पमा दैनिक ज्वरो नाप्ने, मास्क, सेनिटाइजर प्रयोग गर्नेलगायत सबै काम भएको उनको भनाइ छ ।
‘हामीले १० वटा आइसोलेसन कोठा बनाएका छौं, जसमा ३२ जनालाई राख्न मिल्छ,’ उनले भने, ‘१५ वटा अक्सिजन सिलिन्डरको पनि व्यवस्था गरिएको छ ।’ यो सबै काठमाडौंतर्फ राखिएको हो । ‘केही दिनअघि १६ जनामा कोरोना देखियो,’ उनले भने, ‘उनीहरूलाई साइटमा राखिएको छैन, निर्माणमा खटिने अन्य कामदारको स्वास्थ्य जाँच नियमित गरेर मात्र काम अगाडि बढाएका छौं ।’ अहिले कामदारमा कुनै समस्या छैन । निर्माणस्थलमा मेडिकल टिम नै राखिएको उनको दाबी छ ।
साइटमा निर्माण सामग्री धेरै राख्ने ठाउँ नहुँदा आवश्यकताअनुसार स्थानीयस्तरबाटै ल्याउने गरिएको छ । ‘अहिलेसम्म निर्माण सामग्री नियमित रूपमा पाएका छौं,’ उनले भने, ‘सामग्री ढुवानी गर्ने व्यवस्था राति मिलाइएको छ ।’ तोकिएकै समयमा निर्माणको काम सक्ने गरी निषेधाज्ञामा पनि स्वास्थ्य सावधानी अपनाउँदै काम अघि बढाइएको शाक्यले बताए । अहिले धादिङतिर मुख्य सुरुङ ६४ मिटर र आपत्कालीन उद्धार ९स्केप्ट टनेल सुरुङ० ६७ मिटर खनिसकिएको छ । काठमाडौंतर्फ मुख्य सुरुङ ५० मिटर र आपत्कालीन सुरुङ १६६ मिटर खनिसकिएको छ । ‘अहिलेसम्म सबै गरेर मुख्य सुरुङ ११४ मिटर र आपत्कालीन सुरुङ २३३ मिटर खनिसकिएको छ,’ उनले भने ।
काठमाडौंतर्फ नै तीन वटा बक्स कल्भर्ट निर्माणको काम सकिएको छ । दुई वटा निर्माणाधीन छन् । सुरुङको मुखमा ओभरपास निर्माणको काम पनि भइरहेको छ । धादिङततर्फ पनि अन्डरपास निर्माण सुरु भएको शाक्यले जानकारी दिए । ‘धादिङतर्फ सुरुङको मुखमा अन्डरपास निर्माण गर्नुपर्छ,’ उनले भने, ‘यसको काम सकिसकेपछि चार ठाउँबाट सुरुङ खन्छौं ।’ अहिले तीन ठाउँबाट मात्र खनिएको छ । काठमाडौंमा २ र धादिङमा पालैपालो मुख्य र आपत्कालीन सुरुङ खन्ने गरिएको छ । कान्तिपुर दैनिकबाट