Logo

जोशीको निधनले प्रजातान्त्रिक आन्दोलनलाई नोक्सान : वरिष्ठ नेता पौडेल



काठमाडौँ, २६ वैशाख: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता एवम् पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीको निधनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई ठूलो नोक्सान पुगेको बताएका छन् ।

स्व जोशीको ४५औँ पुन्यतिथिका अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज त्यहाँ आयोजना गरेको ‘श्रद्धाञ्जलि सभा’मा उहाँले जोशीको निधनले देशले होनहार र उदीयमान नेता गुमाएको बताएका हुन् ।

“लगनशील, सिर्जनशील र इमान्दार नेता जोशीको अभाव आगामी दिनमा देश र कांग्रेसभित्र खड्किनेछ”, उनले भने । पछिल्लो समय जनप्रतिनिधिका हैसियतले जनताको घरघरमा पुगेर जनसम्बन्ध राखेर अनुकरणीय काम गर्ने नेता जोशीबाट कांग्रेसका नेताले पाठ सिक्नुपर्ने उनको भनाइ थियो ।

नेता पौडेलले उद्योगमन्त्री हुँदा स्व जोशीले बन्द हुन लागेका उदयपुर सिमेन्ट उद्योग, हेटौँडा सिमेन्ट उद्योग र औषधि व्यवस्था विभागलगायतमा कुशलतापूर्वक नेतृत्व गरेर पुनर्जीवन दिएको स्मरणसमेत गरे ।

बौद्धिक, विचारशील र कर्मशील व्यक्तित्व जोशीको निधनमा कांग्रेसले ठूलो क्षति व्यहोर्नुपरेको नेता पौडेलले बताए । नेपालमा लोकतन्त्र साकार गरेमात्र स्व जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने उनको भनाइ थियो ।

कांग्रेस नेता प्रकाशमान सिंहले स्व जोशी पार्टीको नेता मात्र नभएर प्रजातान्त्रिक आन्दोलनको सशक्त व्यक्ति भएको बताए । “मूल्य मान्यता र आदर्शको राजनीतिमा अडिग र प्रतिकूल अवस्थामा नझुक्ने नेता स्व जोशी हुनुहुन्थ्यो”, उनले भने । नेपाली कांग्रेसमात्र नभएर देशलाई नै नेतृत्व गर्ने क्षमता स्व जोशीमा रहेको उनको भनाइ थियो ।

नेता सिंहले गणेशमान सिंहलाई जीवन्त राख्न स्व जोशीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । गणेशमान सिंह अध्ययन प्रतिष्ठानलाई निरन्तर रुपमा अगाडि बढाएमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले बताए ।

प्रतिष्ठानका उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले जोशीको निधनले पार्टी र देशले एक योग्य नेता गुमाएको बताए । स्व जोशीको योजनाअनुसार नै प्रतिष्ठानलाई अगाडि बढाउने उनको भनाइ थियो ।

प्रतिष्ठानका सचिव डा भुपेन्द्र बस्नेतले स्व जोशी इमान्दार र असल नेतृत्वकर्ता भएको बताए । प्रतिष्ठानका सदस्य एवम् त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा केदारभक्त माथेमाले स्व जोशी युवा जोस भएको जाँगरिलो नेता भएको बताए ।

स्व जोशीकी धर्मपत्नी सपना जोशीले स्व जोशी परिवारभन्दा पनि देश र जनतालाई माया गर्ने व्यक्ति भएको बताए । गणेशमान सिंह अध्ययन प्रतिष्ठानलाई निरन्तर अगाडि बढाए जोशीप्रति सच्चा श्रद्धाञ्जलि हुने उनको भनाइ थियो ।

कांग्रेस नेता राजुराज जोशीले स्व जोशीको योगदान पार्टीले मूल्याङ्कन गर्नुपर्ने बताए । प्रजातन्त्रका लागि कोहीसँग नझुक्ने नेता स्व जोशी भएको उनको भनाइ थियो । विसं २०१९ मा काठमाडौँमा जन्मनुभएका जोशीको विसं २०७७ चैत १३ गते नर्भिक अस्पताल थापाथलीमा निधन भएको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot