काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विश्वासको मत लिन नसक्ने देखिएको छ । विश्वासको मत लिन नेकपा एमाले एकढिक्का भई जनता समाजवादी पार्टीको पनि साथ मिल्नुपर्नेछ । तर, जसपाका अध्यक्ष महन्थ ठाकुरले ओलीलाई साथ नदिने स्पष्ट पारिसकेका छन् ।
जसपाले भोलि विश्वासको मत दिने नदिनेमा सांसदहरुलाई छुट दिएको छ । उसले कुनै ह्वीप जारी गरेको छैन । यसबाट पनि ओली सरकार टिक्न नयाँ परिस्थिति विकास हुनुपर्नेछ । त्यो परिस्थिति विकास भएमा जसपा नै निर्णायक शक्ति बन्नेछ ।
विश्वासको मत लिँदा जसपाका बहुमत सांसद ओलीको पक्षमा गएमा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने सम्भावना बढेको छ । नेपाल समूह जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउने पक्षमा छ ।
ओलीले विश्वासको मत लिन नसकेमा फेरि संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समिकरणबाट बहुमतको सरकार बनाउने पहल चल्छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र त्यस्तो पहलमा सक्रिय छन् । काँग्रेससँग ६१ र माओवादीसँग ५९ सांसद संख्या छन् । यो बहुमतका लागि पर्याप्त छैन । बहुमत पुग्न जसपाको सबै सांसदको साथ चाहिन्छ । त्यतिबेला जसपा निर्णायक शक्ति हुन्छ ।
जसपासँग ३२ सांसद छन् । उनीहरु एकजुट भएमा बार्गेनिङ्ग शक्ति निश्चित रुपमा बढ्नेछ । उसले सरकारको नेतृत्व या महत्वपूर्ण मन्त्रालयको दाबी गर्न सक्छ ।
बहुमतको सरकार बन्न नदिने रणनीति बनाएमा ओलीलाई लाभ पुग्छ । उनी धारा ७६ ३ बमोजिम अल्पमतको सरकारको प्रधानमन्त्री बनेर चुनावमा देशलाई लान सक्छन् । त्यसका लागि पनि जसपा नै निर्णायक शक्ति हुनेछ । उसले ओलीसँग पनि दरिलो गरी बार्गेनिङ गर्न सक्छ ।