काठमाडौं, २७ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दिनअघि बामदेव गौतमलाई फोन गरी आफ्नो पक्षमा आउन आग्रह गरे । उनले गौतमलाई माधव नेपालको लहै लहैमा नलाग्न भने ।
माधव नेपाल समूहमा लागेका केही नेताहरुलाई पनि साथमा ल्याउन ओलीले आग्रह गरे । तर, गौतमले आफू कसैको पक्षमा नभएको तर २ जेठ २०७५ को अवस्थामा एमालेलाई फर्काएर अगाडि बढ्नुपर्ने पक्षमा रहेको स्पष्ट पारे ।
ओलीले गौतमसँगको संवादमा नेपाल समूहका केही नेताहरुले आफूलाई साथ दिन लागेको समेत दाबी गरे । जवाफमा गौतमले चुनौतीका साथ भने, ‘तपाईंका आफ्ना भनेकाले नै तपाईंलाई छाड्नेछन् । उनीहरु बोल्न मात्र नसकेका हुन् तपाईंको शैलीबाट सन्तुष्ट छैनन् ।’
गौतमले ओलीमाथि एमाले नै ध्वस्त बनाउने बाटोमा लागेको आरोप समेत लगाए । एमालेलाई एक बनाउन नवौं महाधिवेशनको म्यान्डेट कार्यान्वयनका लागि २ जेठ २०७५ को अवस्थामा ल्याउन दोहोर्याए । तर, ओलीले अगाडि बढिसकेकाले पछाडि नफर्कने अडान लिए । त्यसपछि गौतमले २ जेठबाहेकमा कुरै नगर्न भने । उनले माधव नेपालसँग २ जेठकै सवालमा आफ्नो कुरा मिलेको बताए ।