काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको ह्वीप उल्लंघन गरे सांसदहरुलाई आजै पदमुक्त गर्न निर्देशन दिएका छन् । अहिले केही बेरमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदैछन् । तर, पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुले बैठकमा अनुपस्थित् हुने बताईसकेका छन् ।
हिजोमात्रै प्रमुख सचेतक विशाल भट्टराईले सांसदहरुलाई आजको बैठकमा उपस्थित् हुन ह्वीप जारी गरेका थिए । तर, माधव नेपाल पक्षधर बैठकमा सहभागी नभए ह्वीप उल्लंघन गरेको ठहरिने भएकोले उनीहरु नआए आजै चार बजे पदमुक्त गर्नुपर्ने भन्दै दलका नेता तथा प्रधानमन्त्री ओलीले प्रमुख सचेतक विशाल भट्टराईलाई सोही अनुसार तयारी गर्न निर्देशन दिएका छन् ।
प्रमुख सचेतक भट्टराईले पत्रकार ऋषि धमलासँग भने–‘प्रधानमन्त्रीज्यूले ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई पदमुक्त गर्ने कुरा गर्नुभएको छ । हामी तयारी अवस्थामा छौं ।’ File Photo/ReportersNepal