काठमाडौं, २८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार गठन गर्ने उद्देश्यले आज दिँउसो नेकपा (माओवादी केन्द्र), जसपाका अध्यक्ष उपेन्द्र यादव र माधव नेपालसँग छलफल गर्ने भएका छन् । आफ्नो निवास बुढानिलकण्ठमा दिउँसो २ बजे छलफल हुने देउवाको सचिवालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार निर्माणको लागि बैशाख ३० गते राति ९ बजेसम्मको समय दिएकी छिन् । उनले हिजो एक विज्ञप्ती जारी गर्दै संविधानको धारा ७६ को २ अनुसार सरकार गठनको आह्वान गरेकी थिइन्। संविधानको उक्त धाराअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न सक्छन्।
हिजो संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल हुनेबित्तिकै कांग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव पक्षले संयुक्त वक्तव्य जारी गर्दै धारा ७६ को २ अनुसार नै नयाँ सरकार गठनको लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिश गरेका थिए । सोहीअनुसार राष्ट्रपतिले हिजो राति नै बहुमतको सरकार बनाउन आह्वान गरेकी हुन् । File Photo/ReportersNepal