काठमाडौं, २८ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री बन्ने दौडमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर बाधक बनेका छन् । ठाकुरले कुनै हालतमा देउवालाई प्रधानमन्त्री बन्न नदिने निकटस्थसँग भनेको बुझिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई जसपाको नयाँ सरकार निर्माणमा कसैलाई साथ नभएको पत्र ठाकुरले बुझाउने निर्णय लिइसकेका छन् । उनको त्यो कदम देउवालाई रोक्ने रणनीतिका साथ भएको हो ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा सोभन्दा बढी दलको बहुमतप्राप्त सरकारका लागि २७ वैशाखको साँझ आव्हान गरेकी छिन् । सो आव्हान बमोजिम देउवालाई प्रधानमन्त्री प्रस्ताव गरेर काँग्रेस, माओवादी र जसपाको संयुक्त सरकारका लागि निवेदन दिने तयारी समेत भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले देउवा र प्रचण्डसँग संयुक्त हस्ताक्षर गरी बहुमतको प्रधानमन्त्रीको आव्हान गर्न राष्ट्रपतिलाई आग्रह समेत गरेका थिए । तर, उक्त हस्ताक्षरप्रति ठाकुरले गम्भीर आपत्ती व्यक्त गर्दै मध्यराति विज्ञप्ति जारी गरे । यसले नयाँ राजनीतिक घटना विकास भएको छ ।
महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्ने स्पष्ट सन्देश दिइसकेका छन् । योसँगै देउवाको प्रधानमन्त्री बन्ने सम्भावना कमजोर बनेको छ ।
माधवकुमार नेपाल पक्षका २० सांसदले राजीनामा गर्नुपर्ने र गरेपछि पनि उपेन्द्र यादवले देउवालाई प्रधानमन्त्री बनजाउन कम्तिमा १७ सांसदको साथ पाउनुपर्ने अवस्था सृजना भएको छ । जुन निकै कठिन बनेको छ ।
देउवाले प्रधानमन्त्री बन्ने सम्भावना कमजोर बनेपछि माधव नेपालसहित काँग्रेस, माओवादी र जसपाको उपेन्द्र यादव समूहको संयुक्त बैठक रोकेर पदाधिकारी बैठक डाकेका छन् । उनले अबको राजनीतिक परिस्थिति र भावी रणनीतिबारे छलफल गर्ने बुझिएको छ ।-फाइल तस्बिर