Logo

देउवा, दाहाल र उपेन्द्रबीच एक घण्टा भेटवार्ता, महन्थ ठाकुरलाई मनाउनेबारे छलफल



काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको हो । देउवा निवास बुढानिलकण्ठमा तीन नेताबीच भर्खरै छलफल सम्पन्न भएको हो । उनीहरुबीच करिब एक घण्टा भेटवार्ता भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो राति संविधानको धारा ७६ को २ अनुसार बहुमतको सरकार गठन गर्न आह्वान गरेकी थिईन् । प्रधाानमन्त्री केपी शर्मा ओली हिजो संसदमा विश्वासको मत लिन असफल भएपछि देउवा, दाहाल र यादवले संयुक्त वक्तव्य जारी गर्दै संविधानको धारा ७६ को २ बमोजिम सरकार गठनको लागि आह्वान गर्न आग्रह गरेका थिए । त्यसको भोलिपल्ट आज तीन नेताबीच सत्ता समिकरणको विषयमा छलफल भएको हो ।

स्रोतकाअनुसार आजको छलफलमा जसपाको सम्पूर्ण साथ लिएर अघि बढ्नुपर्नेमा देउवाले जोड दिएका थिए । यादवले पनि जसपाले वैकल्पिक सरकार गठनको लागि एकमतले निर्णय लिने विश्वास देउवा र दाहाललाई गरेका थिए । तर, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले भने आफूहरु वैकल्पिक सरकार गठनको पक्षमा नभएको भन्दै विज्ञप्ती नै जारी गरिसकेका छन् । प्रधानमन्त्रीले हिजो लिएको विश्वासको मतको विपक्षमा यादव नेतृत्वको समूहले भोट हालेको थियो भने ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्