Logo

एकै सातामा निक्षेप थप १० अर्बले बढ्यो



काठमाडौं, बैशाख २९ । मुलुकका अत्यधिक भूभागमा निषेधाज्ञा भए पनि बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह भने सकारात्मक देखिन्छ । कोभिड–१९ को दोस्रो लहरबाट मुलुक अस्तव्यस्त भइरहँदा पछिल्लो साता अर्थात् वैशाख चौथो साता २७ वाणिज्य बैंकको निक्षेप संकलन थप रू। १० अर्बले बढी कुल रू। ३९ खर्ब ३३ करोड पुगेको छ ।

यसअघिको साता अर्थात् वैशाख तेस्रो साता मात्रै थप १ अर्ब रुपैयाँ निक्षेप वृद्धि हुँदा कुल निक्षेप रू। ३९ खर्ब २३ अर्ब पुगेको थियो । अन्य निक्षेपभन्दा पनि विप्रेषण बढेका कारण निक्षेपमा वृद्धि भएको हुनसक्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । नेपाली नयाँ वर्ष शुरूसँगै अर्थात् वैशाख पहिलो र दोस्रो साता बैंकको निक्षेप संकलन पनि प्रभावित बनेको थियो ।

वैशाखको पहिलो साता निक्षेप संकलन १७ अर्ब रुपैयाँले कमी भएको थियो । यस्तै वैशाख दोस्रो साता ५ अर्ब रुपैयाँले थप घट्दा कुल निक्षेप संकलन ३९ खर्ब २२ अर्ब पुगेको थियो ।

वैशाख महीनाको चौथो सातामा कर्जा प्रवाह पनि थप रू। १५ अर्बले वृद्धि भई कुल कर्जा रू। ३६ खर्ब ९ अर्ब पुगेको छ । बैंकबाट नयाँ कर्जा भने प्रवाह नभएको बैंकरहरू बताउँछन् ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालका अनुसार पछिल्लो समय थप नयाँ कर्जा गएको छैन तर प्रतीतपत्र ९एलसी० भुक्तानीको कारण कर्जा वृद्धि भएको हो ।

पछिल्लो साता कर्जा प्रवाह बढे पनि तेस्रो साता भने १५ अर्ब रुपैयाँले घटेको थियो । वैशाखका शुरुआती २ सातामा पनि कर्जा प्रवाहमा उतारचढाव आएको थियो । निरन्तर वृद्धि भइरहेको कर्जा प्रवाह वैशाख पहिलो सातामा ८ अर्ब रुपैयाँले घटेको थियो भने दोस्रो सातामा सुधार देखिएको थियो ।

गत फागुन र चैत महीनामा निक्षेप वृद्धि निरन्तर बढेको थियो । गत फागुनको अन्तिम अर्थात् चौथो साता रू। २४ अर्बले कर्जा प्रवाह थपिँदा कुल कर्जा रू। ३४ खर्ब १२ अर्ब पुगेको थियो । त्यो साता निक्षेपको वृद्धि कर्जाको तुलनामा कम थियो । रू। ३ अर्बले मात्रै निक्षेप संकलन थपिएर कुल ३८ खर्ब २६ अर्ब रुपैयाँको निक्षेप संकलन भएको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्