Logo

देउवाको प्रस्ताव बोकेर बालकृष्ण महन्थकहाँ, वैकल्पिक सरकार गठनबारे सहमतिको प्रयास



काठमाडौं, २९ बैशाख । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण सत्ता सहकार्यको प्रस्ताव बोकेर जसपाका अध्यक्ष महन्थ ठाकुरकहाँ गएका छन् । अहिले दुई नेताबीच छलफल जारी रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ । नेता खाँण पार्टी सभापति शेरबहादुर देउवाको प्रस्ताव बोकेर ठाकुरलाई भेट्न पुगेका हुन् ।

संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसिमा भोलि राति ९ बजे सकिँदैछ । तर, त्यो भन्दा अघि नै कांग्रेसको नेतृत्वमा विपक्षी गठबन्धनको सरकार बनाउने तयारी भैरहेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले वैकल्पिक सरकार गठनको लागि यसअघि नै देउवासँग सहमति गरिसकेका छन् । यसको लागि उनीहरुबीच पटक पटक छलफल भएका छन् ।

सभापति देउवा कांग्रेस, माओवादी केन्द्र र जसपाको सिंगो साथ र समर्थन लिएर सरकार बनाउन चाहन्छन् । त्यसकै लागि उनले ठाकुरलाई फकाउन अन्तिम प्रयास जारी राखेका छन् । तर, जसपाको आन्तरिक किचलोले गर्दा अध्यक्षद्धय ठाकुर र यादव भने दुई फरक फरक धारमा उभिएका छन् । ठाकुरले भने वैकल्पिक सरकार गठनमा आफ्नो पार्टी नलाग्ने भन्दै विज्ञप्ती नै निकालेर प्रधानमन्त्री केपी शर्मा ओलीको कित्तामा उभ्याएका छन् ।

आजमात्रै उनले प्रधानमन्त्री ओलीसँग करिब तीन घण्टा लामो भेटवार्ता गरे । उक्त भेटमा प्रधानमन्त्री ओलीले सत्ता सहकार्यको लागि प्रस्ताव राखेका थिए । तर, ठाकुरले भने त्यसबारेमा कुनै प्रतिक्रिया दिएका थिएनन् । लगत्तै उनी राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए ।

कांग्रेसले भने जसपाले एकमतले निर्णय गरेर भोलिसम्म वैकल्पिक सरकार गठनको प्रक्रियामा आफूलाई उभ्याउने विश्वास लिएको छ । सोहीअनुसार सभापति देउवाले जसपाका नेताहरुसँग वार्ता गर्न लगाएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्