Logo

सपना आईजीपीको, रिटायर्ड डीएसपीमै



काठमाडौं, बैशाख ३० । सशस्त्र प्रहरी बलको माथिल्लो निकायमा लामो समयदेखि बढुवा प्रक्रिया अघि नबढ्दा ‘फ्रेस’ मा भर्ना भएका अधिकृतहरुमा नैराश्यता छाउँदै गएको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा सेवा प्रवेश गरेका अधिकृतहरुलाई भावी महानिरीक्षक (आईजीपी)को रुपमा हेरिने भएपनि समयमै वृत्तिविकास नहुँदा एक तहमाथिको नायव उपरीक्षक (डीएसपी) मै अवकाश पाउने स्थिति बन्दै गएको छ ।

लामो समयदेखि वृत्तिविकासमा परेको असरले उनीहरु सेवामा रहिरहने कि राजिनामा दिने भने दोधारमा छन् । सशस्त्रको नेतृत्वमा रहेकाले उचित समयमा उचित निर्णय लिन नसक्दा यो अवस्था आएको हो । यसमा हालको पदीय संरचना पनि दोषमुक्त छैन ।

सशस्त्रमा हाल डीएसपीदेखि नायव महानिरीक्षक (डीआईजी)सम्म १०५ पद रिक्त रहेपनि बढुवा प्रक्रिया अगाडि नबढेकाले उनीहरु थप तनावमा छन् । लामो समयदेखि एउटै पदमा रहनु पर्दा उनीहरुमा सेवाप्रति नै वितृष्णा छाउँदै गएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता डीआईजी राजु अर्याल बढुवा प्रक्रिया अगाडि बढाउने विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँछन् । ‘यस विषयमा मलाई कुनै जानकारी छैन,’ प्रवक्ता अर्यालले भने ।

नेपाल प्रहरीमा सहायक निरीक्षक (असई) र नायव निरीक्षक (सई) मा भर्ना भएर सशस्त्र प्रहरीमा स्थानान्तरण भई आएका अधिकृतहरु उपरीक्षक (एसपी), वरिष्ठ उपरीक्षक (एसएसपी) बनिसक्दा पनि खुल्ला प्रतिस्पर्धामार्फत ‘फ्रेस’मा इन्सपेक्टर भएकाहरु १५ वर्ष कटिसक्दा पनि एक तहमाथिको डीएसपी बन्न सकेका छैनन् ।

अवस्था यतिसम्म बनेको छ कि, नेपाल प्रहरीमा प्राविधिकमा भर्ना भएका सईहरु अबको बढुवामा डीआईजी बन्नेछन् । उनीहरु डीआईजी बनेपछि पनि वरिष्ठ एसएसपीमा प्रहरीका प्राविधिक सई नै हुनेछन् । अर्को बढुवामा तिनीहरु नै डीआईजी हुनेछन् । सेवा अवधि बढी नै बाँकी रहेकाले उनीहरु अझै सो पदभन्दा माथि पुग्नेछन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot