वीरगञ्ज, बैशाख ३०। तेस्रो मुलुकसँगको व्यापारमा सिपिङ कम्पनीको मनोमानीका कारण नेपाली आयातकर्ता मारमा परेका छन् । भारतको कोलकाता बन्दरगाहमार्फत हुने आयातनिर्यातमा यस्तो समस्या बढी देखिने गरेको छ ।
आयातकर्तालाई सहजीकरण गर्नुपर्ने सिपिङ कम्पनीका एजेन्टले आयातकर्तालाई विभिन्न बहानामा दुःख दिएको भेटिएको छ । कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले आयातकर्तालाई हैरानी दिने दुईओटा सिपिङ कम्पनीसँग कारोबार नगर्न आग्रह गरेको छ । महावाणिज्य दूतावासले बुधवार एक सूचनामार्पmत रिभर एज सिपिङ प्रालि र रिगल कन्टेनर लाइनमार्पmत कन्टेर ढुवानी नगर्न भनेको हो ।
यी सिपिङ कम्पनीले तेस्रो मुलुकबाट नेपालका लागि कन्टेनर ढुवानी गर्दा आयातकर्तालाई विभिन्न बहानामा हैरानी दिने गरेको महावाणिज्य दूतावासको सूचनामा उल्लेख छ । कम्पनीका सम्पर्क व्यक्तिले आयातकर्तासित बारम्बार अतिरिक्त शुल्क दाबी गरेको, आयातकर्ताको मालवस्तु अलपत्र पारेर जरीवाना बढाउने काम गरेकोलगायत उजुरी आएकाले कारोबार नगर्न आग्रह गरिएको महावाणिज्यदूत ईश्वरराज पौडेलले आर्थिक अभियानलाई बताए ।
ती कम्पनीका सम्पर्क व्यक्तिले आयातकर्तालाई सहजीकरण गर्नुपर्नेमा उल्टै समस्यामा पारेको महावाणिज्यदूतावासको सूचनामा उल्लेख छ । पत्रमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, भन्सार विभाग र उद्यमी व्यवसायीका संघसंस्थालाई पनि यी कम्पनीसित कारोबार नगर्ने व्यवस्था मिलाउन भनिएको छ ।आर्थिक अभियान दैनिकबाट