काठमाडौं, ३० वैशाख । आज साँझ ९ बजेभित्र बहुमतको सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र बुझाउने समय छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्ने सम्भावना देखिदैन । ओलीविरोधी गठबन्धनबाट त्यो सम्भावना छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षधरले बहुमतका लागि गृहकार्य गरिरहेका छन् । उनीहरुको यथास्थितिमा बहुमत पुग्दैन । जसपा गठबन्धनको पक्ष र विपक्षमा विभाजित छ । दुवैतर्फ आधा आधा सांसद छन् ।
ओलीविरोधी गठबन्धनको बहुमत पुर्याउन नेकपा एमालेका माधवकुमार नेपाल र झलनाथ खनालनिकट २० प्रत्यक्ष निर्वाचित सांसदको राजीनामा आउने तयारी भइरहेको छ । उनीहरुको राजीनामा आएमा ओलीविरोधी गठबन्धनको बहुमत पुग्ने सम्भावना मजबुत हुन्छ । तर, उपेन्द्र यादवले आफ्नो पक्षमा कम्तिमा १४ सांसद जोगाइराख्नुपर्ने हुन्छ ।
ओलीविरोधी गठबन्धनले बहुमत पुर्याउन सके नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सक्छन् । उनलाई गठबन्धनले प्रधानमन्त्रीका बनाउने सहमति गरेको बुझिएको छ ।
ओलीविरोधी गठबन्धनले बहुमत पुर्याउन नसके संविधानको धारा ७६ को उपधारा २ बाट प्रधानमन्त्री बन्ने सम्भावना टर्छ । राष्ट्रपति भण्डारीले त्यसपछि ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त गर्नेछिन् । साँझ ९ बजेलगत्तै त्यस्तो सम्भावना छ । तर, ओलीलाई फेरि प्रधानमन्त्री बन्न नदिन रणनीतिक रुपमा गठबन्धन बढेको छ ।
गठबन्धनले ओलीलाई रोक्न महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गरेर कुरा मिलाउन सक्ने सम्भावना टरेको छैन । ठाकुरको दाबी प्रधानमन्त्री नै देखिन्छ । गठबन्धनबाटै उनी प्रधानमन्त्री बन्न सक्छन् । एमालेको साथ पाएर प्रधानमन्त्री बन्ने सम्भावना निकै कम छ । किनभने एमालेका नेपाल खनाल समूहका २० सांसदले राजीनामा दिदैछन् ।