Logo

तानातानमा एमाले र जसपाका सांसद (सम्भावित अंकगणितसहित)



काठमाडौं, ३० वैशाख । सत्ता राजनीतिक रोचक मोडमा पुगेको छ । केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री दिन नदिने र बहुमतबाट अर्को प्रधानमन्त्री बन्नबाट रोक्ने संघर्ष उत्कर्षमा पुगेपछि सत्ता राजनीतिक रोचक मोडमा पुगेको हो ।

ओलीलाई हटाउन एमालेका २० प्रत्यक्षतर्फ निर्वाचित सांसदले आज राजीनामा दिने सम्भावना छ । उनीहरुमध्येबाट केही सांसदलाई आफ्नो पक्षमा पारेर आफूविरोधी गठबन्धनलाई कमजोर पार्न ओली पक्ष नेताहरुको दौडधूप चलिरहेको छ । उनीहरुले केही सांसदहरुसँग सम्पर्क समेत स्थापित गरेका छन्। तर, राजीनामा रोक्ने सम्भावना कमजोर छ । एक वा दुई सांसद भने राजीनामाबाट रोकिने संकेतहरु देखिएको छ ।

ओली पक्षीय नेताहरु जनता समाजवादी पार्टीका सांसदहरुसँग पनि सम्पर्क गरिरहेका छन् । उनीहरुले उपेन्द्र यादव र डा.बाबुराम पक्षधर केही सांसदहरुसँग सम्पर्क स्थापित गरी महन्थ ठाकुरको पक्षमा ल्याउने प्रयास गरिरहेका छन् । ठाकुर पक्षधर नेताहरु पनि यसमा लागेका छन् । राजेन्द्र महतोको सक्रियता निकै बढेको छ । चन्दा चौधरीको दौडधूप पनि चलिरहेको छ ।

जसपाभित्र महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष दुवैतर्फ १६-१६ सांसद छन् । यादव समूहका ३ जनालाई ठाकुर पक्षमा पार्न सके प्रतिनिधि सभामा बहुमत नपुग्ने ओली पक्षको आँकलन छ । ओलीका विश्वासपात्रहरु यसमा सक्रिय भएका छन् ।

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरु यताउता हुने सम्भावना देखिदैन । मुख्य ध्यान एमाले र जसपाभित्र नै छ ।

ओलीविरोधी गठबन्धन पनि एमाले र जसपाभित्र अझ बढी सांसदलाई आफू अनुकूलको अवस्थामा ल्याउन सक्रिय छन् । एमालेको माधव नेपाल-झलनाथ खनाल पक्षधर नेताहरु प्रत्यक्ष निर्वाचित केही सांसदहरु बढाउन सक्रिय छ । उनीहरुले ओली पक्षधर केही सांसदहरुसँग सम्पर्क समेत स्थापित गरिरहेको बुझिएको छ ।

जसपाको महन्थ ठाकुर पक्षधर केही सांसदहरुलाई उपेन्द्र यादवको पक्षमा पार्न पनि ओलीविरोधी गठबन्धन सक्रिय छ । यसमा काँग्रेस सभापति शेरबहादुर देउवाले निकै चासो दिएका छन् । देउवानिकट नेताहरु पनि यसमा सक्रिय छन् ।

यस्तो छ अंकगणित
राष्ट्रपति विद्यादेवी भण्डारलिे धारा ७६ को उपधारा २ बमोजिम तीन दिनभित्र दुई वा दुईभन्दा बढी दलको बहुमतप्राप्त सरकार गठनको आव्हान गरेको समय ३० वैशाखको साँझ ९ बजे सकिदैछ । बहुमतको आधार प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीसम्म पत्र लिएर जाने अवसर ओलीविरोधी गठबन्धनलाई छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी गठबन्धन निर्माणमा सक्रिय छन् । तर, जसपाका अध्यक्ष महन्थ ठाकुर गठबन्धनमा सामेल नहुने अडानमा छन् । उनीसँग जसपाको कुल ३२ सांसदमध्ये १६ सांसद साथमा छन् । ठाकुर गठबन्धनमा सामेल नभए ओलीविरोधी बहुमतको गठबन्धन बन्ने सम्भावना कमजोर हुन्छ । उपेन्द्र यादवसँग जति सांसद बढ्छन् उति ओलीविरोधी गठबन्धनलाई फाइदा छ । घटेमा ओलीलाई फाइदा छ ।

ओलीविरोधी बहुमतको गठबन्धन बनाउन माधवकुमार नेपालनिकट २८ एमाले सांसदको राजीनामाबाट जाने रणनीति बनेको छ । सम्भवत आज नै नेपाल समूहका प्रत्यक्षतर्फ निर्वाचित २० सांसदको राजीनामा आउँछ । जति बढी एमालेका प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिन्छन् उति नै ओलीविरोधी गठबन्धनलाई फाइदा पुग्छ । माधव नेपाल समूहका रहेका २८ सांसदले राजीनामा दिएपनि प्रत्यक्षतर्फ निर्वाचित भएका २० सांसद पद मात्र खाली हुन्छ । त्यतिबेला नेकपा एमालेको कुल सांसद संख्या घटेर १०१ पुग्छ ।

प्रतिनिधि सभाको कुल २७५ सांसद संख्यामध्ये ४ सदस्य खाली र ४ सदस्य निलम्बित छन् । जसका कारण प्रतिनिधि सभाको हाल रहेको कुल २६७ सांसदबाट बहुमतका लागि १३४ मत ल्याउनुपर्छ । एमाले एक भई अगाडि बढेमा १३ मत पुग्दैन । तर, माधव नेपाल समूहका २० प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा गरे अंकगणित फरक पर्छ ।

२० सांसदको सिट खाली रहेमा प्रतिनिधि सभामा २४७ सिट बाँकी रहन्छ । बहुमतका लागि १२४ सिट आवश्यक पर्छ । काँग्रेसको ६१ र माओवादी केन्द्रको ४९ गरी ११० सिट पुग्छ । बाँकी १४ सिट आवश्यक पर्छ । उक्त सिट उपेन्द्र यादव पक्षधर जसपाबाट पुग्नसक्छ । यादवसँग अहिले १६ सिट छ । उनले त्यो सिट जोगाउन सके ओलीविरोधी रणनीति सफल हुन्छ । त्यसैले जसपाभित्रको दुई समूहका बराबर सांसदमध्ये उपेन्द्र यादव समूहका ३ सांसद निर्णायक शक्ति बन्न सक्छन् । उनीहरुलाई यसकारण पनि तान्ने प्रयास चलेको हो ।



प्रतिक्रिया दिनुहोस्